काठमाडौं । सुन तस्करी प्रकरणमा सीआईबीले सोमबार भारतबाट सुमन खरेललाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ । खरेल बुटवलका स्थानीय हुन् ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार बिस्कुट आकारका सुन खरेलले चिनियाँबाट रिसिभ गर्ने गरेका थिए । बिस्कुट आकारको सुन खरेलले काठमाडौँ उपत्यका, भारत र नेपाल–भारत सिमानामा बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । खरेलसँग ब्युरोका अनुसन्धान अधिकृतहरुले सोधपुछ गरिरहेका छन् ।
६० किलो सुन तस्करीमा अहिलेसम्म ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग र ‘अलि’ भनेर चिनिने ली वेन सुङ्ग र जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका हुन् ।
पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’को हिरासतमा अहिले ७ जना चिनियाँ नागरिक छन् ।


















