काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप छनोट तयारीमा म्यानमारविरुद्ध दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्दै छ, जसको पहिलो प्रतिस्पर्धा यांगुनस्थित थुवुना रंगशालामा शुक्रबार हुनेछ । म्यानमारविरुद्ध हुनेमैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका लागि तयारी गर्नेक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी । नेपालले शुक्रबार उसकैभूमिमा म्यानमारविरुद्ध खेल्ने छ ।
प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले सम्हालेको नेपाली टिमले मैत्रीपूर्ण खेल भए पनि उत्कृष्ट प्रदर्शन गर्दै जित्ने लक्ष्य बनाएको छ । नेपालले विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसविरुद्ध होम एन्ड अवेको आधारमा प्रतिस्पर्धा गर्दै छ, जसको विजेता टिमले समूह चरणमा प्रवेश पाउने छ । डिफेन्डर देवेन्द्र तामाङ र स्ट्राइकर विमल घर्तीमगरलाई बाहिर राख्दै यांगुन पुगेको नेपाली टिमका लागि लाओसविरुद्ध खेलको अन्तिम तयारीको अवसर पनि हो म्यान्मारविरुद्धका दुई खेल । जर्मन प्रशिक्षक माइकल फेइटेनबेनरले सम्हालेको म्यानमार पनि विश्वकप छनोटको प्रारम्भिक खेलमा मकाउविरुद्ध खेल्ने तयारीमा छ ।
इन्डियन सुपर लिग (आईएसएल) क्लब पन्जाब एफसीमा आबद्ध गोलकिपर किरण चेम्जोङ, थाइल्यान्डको दोस्रो श्रेणीको लिग रायोङ एफसीका स्ट्राइकर/विंगर मनीष डाँगी र पर्सिक केडिरीबाट इन्डोनेसियाको लिग वान खेलिरहेका डिफेन्डर/मिडफिल्डर रोहित चन्दले उतैबाट यांगुन पुगेर टिमसँग प्रशिक्षण थालिसकेका छन् । प्रशिक्षक एनेसले हिसुब थपलिया, उत्सव राई, आशिष गुरुङलगायत केही नयाँ खेलाडीलाई २३ सदस्यीय टिममा स्थान दिएका छन् । दुई मैत्रीपूर्ण खेलका लागि म्यानमारले थाइल्यान्ड, कम्बोडिया र इन्डोनसियन क्लबमा आबद्ध १० खेलाडी समावेश गर्दै २७ सदस्यीय टिम छनोट गरेको छ ।
राष्ट्रिय टिमका लागि १२ गोल गरेका अञ्जन विष्टलाई शुक्रबार थप गोल गरे नीराजन रायमाझी र हरि खड्काको कीर्तिमान बराबरी गर्ने अवसर रहेको छ । दक्षिणपूर्वी एसियाली टिम म्यानमार फिफा वरीयातमा नेपालभन्दा १५ स्थानमाथि छ । तर, मैत्रीपूर्ण खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । नेपाली टिम गत असारमा बेंग्लोरमा भएको साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएयता पहिलोपल्ट मैदानमा ओर्लन लागेको हो । म्यानमार पनि चीनमा दुई मैत्रीपूर्ण खेल (चीन र मकाउविरुद्ध) खेलेयता मैदानमा फर्किन लागेको हो । नेपाल र म्यानमार पछिल्लोपल्ट सन् २०१९ मा भिडेका थिए । मान्डलय थिरि रंगशाला, म्यानमारमा भएको मैत्रीपूर्ण खेल घरेलु टिमले ३–० ले जितेको थियो ।


















