दोधारा चाँदनी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले सुदूरपश्चिममा देउडाको आफ्नै विशिष्ट पहिचान रहेको बताएका छन् । शनिबार खप्तड समाज महेन्द्रनगरले आयोजना गरेको देउडा कार्यक्रममा उनले देउडाको आफ्नै विशिष्ट पहिचान भएकाले यसको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्ने बताए ।
“अहिले देउडा सुदूरपश्चिममा मात्रै नभई काठमाडौँमा समेत भव्यरुपमा हुने गरेको छ”, उनले भने, “यसले सुदूर र कर्णालीको संस्कृति देशभरिका नागरिकले देख्न पाएका छन् ।” सो अवसरमा सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री लालबहादुर खड्काले देउडा मनोरञ्जनका लागि मात्रै नभई देउडामा यहाँको संस्कृति र सभ्यता भएकाले यसको जर्गेना गनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश प्रमुख जोशीसँगै सुदूरपश्चिम प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री प्रकाश रावल र लालबहादुर खड्का भीमदत्त नगरपालिकाका पूर्वमेयर यज्ञराज जोशी जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष दुर्गा बोहरालगायतले मन्तव्य राखेका थिए । सो समारोहमा प्रदेश प्रमुख र प्रदेशसभा सदस्यलगायतका व्यक्तिले देउडा खेलेका थिए ।


















