६१ किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आज बुझाउँदै

145

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी)ले करिब ६१ किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । यसबारे जानकारी दिन सीआईबीले आज ११ः३० बजे पत्रकार सम्मेलन समेत आयोजना गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै बाहिरिएको ब्रेक-सु सहितको सुन गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । सुरुमा ब्रेक सुसहितको तौल १५५ किलो भए पनि त्यसबाट सुनमात्र निकालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो ।

सुरुका १८ दिनसम्म राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा सुन तस्करीमा संगठित गिरोह संलग्न भएको पाइएपछि थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको थियो ।

सुन तस्करीमा संलग्न भएको भन्दै प्रहरीले भन्सार कार्यालयका कर्मचारी, पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल तथा केही चिनियाँ र भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ।

आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउन राय दिने सीआईबीको तयारी छ ।

संगठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही भदौ ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ ।

त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय उपलब्ध हुने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको सीआईबीका एक अधिकृतले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here