१९औं एसियन गेम्स खेल्न हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान

23

काठमाडौं । १९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ ।

चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्समार्फत नेपाली महिला फुटबल टोलीले एसियन गेम्समा डेब्यु गर्दैछ ।

रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीमा २२ खेलाडी छन् । नेपालका सफल प्रशिक्षक बालगोपाल महर्जन मुख्य प्रशिक्षक छन् ।

१९औं एसियाडमा महिला फुटबल प्रतियोगिता भने २१ सेप्टेम्बरदेखि सुरु हुनेछ । नेपाल रहेको समूह ‘डी’मा विश्वकप खेलिसकेको जापान र भियतनामसहित साफ च्याम्पियनसिपको विजेता बंगलादेश छ । जापान विश्वकप विजेता समेत हो ।

नेपालले आफ्नो पहिलो खेल भियतनामसँग २२ सेप्टेम्बरमा खेल्नेछ । यस्तै विश्व विजेता जापानसँग २५ सेप्टेम्बर तथा बंगलादेशसँग २८ सेप्टेम्बरमा खेल्नेछ ।

नेपालले केही समयअघि बंगलादेश विरुद्धको दुई खेलको मैत्रीपूर्ण सिरिज जितेको थियो । यस्तै पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियन छनोटमा नेपालले भियतनामसँग घरेलु मैदानमा दुई खेल खेलेको थियो भने दुवैमा पराजित भएको थियो ।

यसैबीच २०१० को गोन्जाउ एसियाडमा नेपालका लागि एक मात्र कास्य जितेका बक्सिङमा पूर्व खेलाडी दीपक महर्जन पनि आजै चीन प्रस्थान गरेका छन् ।

उनी एसियाडअघि टर्च र्‍यालीमा सहभागी हुन चाँडै गएका हुन् । दीपक १९औं एसियाडमा नेपाली बक्सिङ टोलीका प्रशिक्षक पनि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here