सुन तस्करी प्रकरणमा दावा छिरिङ शेर्पाले ओसारपसार नभई कमिसन पाउने कुरामा मात्र लागेको बयान

2

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा मुख्य अभियुक्तको दाबी गरिएका बेल्जियम नागरिक दावा छिरिङ शेर्पाले सुन तस्करी प्रकरणमा आफू ओसारपसार नभई कमिसन पाउने कुरामा मात्र लागेको बयान दिएका छन्। अनुसन्धानमा उनी नेपालमा सुन तस्करी गराउनेमध्येका मुख्य अभियुक्त देखिएको दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र पेस भएको छ।

नेपाली नागरिकसँग विवाह गरेर काठमाडौंको ठमेलमा भियना होटल सञ्चालन गर्दै आएका दावाले चीनियाँ, भारतीय नागरिक र नेपालका उच्च तहका व्यक्तिसँगको संलग्नतामा सुन तस्करी गरिरहेको अनुसन्धानमा पाइएको थियो। उनलाई प्रहरीले होटलबाट नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

अनुसन्धानको बयानमा क्रममा उनले बयानमा आफूले चिनियाँ नागरिकहरुलाई होटलमा आउने क्रममा चिनेको र केही समयअघि सुनको बिस्कुट आफ्नो ह्वाट्सएपमा पठाउँदै सुन खरिद गर्ने मानिस पाएमा २० हजार कमिसन दिने भनेपछि किशोर बस्नेतलाई पठाएर मानिस खोज्न लगाएको दाबी गरेका छन्।

त्यस्तै उनले पेमा दोर्जे शेर्पालाई देखाई सुन बिक्री गरेमा कमिसन आउँछ भनी कुरा गरेको पनि बताए। दावाले चीनबाट मगाएको सुन नेपालमा पक्राउ परेपछि क्यान्सिल भएको कुरा स्वीकार गरेका छन्। उनको मोबाइलबाट सुन तस्करीमा संलग्न भएको धेरै प्रमाण फेला परेपछि उनले चिनजान र सुनको कारोबारको कुरा स्वीकार गरेको देखिन्छ ।

एक लाखमा नेपाली नागरिकता 
नेपाली नागरिकता आफूले जिल्ला प्रशासन कार्यालयमा उपस्थित नै नभई १ लाखमा खरिद गरेको दावाले बयानमा बताएका छन्। उनले तिब्बतियन नागरिक जिम्बा दोर्जे लामाको सहयोग लिई आफूले नेपाली नागरिकता लिएको स्वीकार गरेका छन्। उनले लामालाई सुरुमा ५० हजार दिएको अनि नागरिकता बनेपछि ५० हजार दिएको बयानमा भनेका छन्।

काभ्रेपालाञ्चोकका पेमा तामाङको छोरा निमा तामाङ भनी आफ्नो फोटो टाँस गरी नेपाली नागरिकता बनाएर आफूलाई दिएको उनले बताएका छन्। आफू नागरिकता बनाउने समयमा नगएको पनि उनले बताएका छन्।

दावा विरुद्ध ३ अर्बभन्दा धेरैको बिगो दाबी गरिएको छ भने भन्सार ऐन, नेपाल राष्ट्र बैंक ऐन, संगठित अपराध र मुलुकी फौजदारी संहिता विरुद्धको कार्य गरेको अभियोगमा सजाय पनि दाबी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here