पाकिस्तानसँगको खेलअघि एक स्पेसल इभेन्ट आयोजना गर्ने

22

काठमाडाैं । एकदिवसीय विश्वकपको उद्घाटन समारोहका लागि ४ अक्टोबर अर्थात आज अन्तिम तयारी गरिएको थियो। तर एकाएक बिसिसिआईले उद्घाटन समारोहको आयोजना नगरिने जनायो। बिसिसिआईको यो घोषणाले धेरैलाई आश्चर्यमा पार्‍यो।

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियमा तय भएकाे कार्यक्रम अन्तिम समय रोकिएपछि धेरैले आतंकवादी धम्कीपछि बिसिसिआई पछि हटेको आंशका गरेका छन्।

बिसिसिआईले भव्य समारोहको आयोजनाको तयारीलाई टार्दै पाकिस्तानसँगको खेलअघि एक स्पेसल इभेन्ट आयोजना गर्ने जनाएको छ। उसले पाकिस्तानसँगको खेलअघि समारोहको आयोजना हुने जनाए पनि उद्घाटन समारोह नहुनुका पछि खालिस्तानी आतंकवादीको धम्कीलाई लिइएको छ।

भारतीय सञ्चारमाध्यामका अनुसार उद्घाटन समारोहका लागि बलिउड स्टार रणवीर सिंह, गायक अर्जित सिंह, श्रेया घोषाल तथा नायिका तमन्ना भाटिया आफ्नो पर्फमेन्सका लागि तयार थिए। योबाहेक आतिशबाजी लगायतका सांस्कृतिक कार्यक्रमहरू हुनसक्ने जनाइएको थियो।

‘क्याप्टेन्स डे’का रूपमा सबै १० देशका कप्तान आ-आफ्नो देशको जर्सीमा उपस्थित हुने र उद्घाटन समारोहपश्चात आफ्नो खेल हुने सहरका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको थियो।

तर बिसिसिआईले अन्तिम समयमा उद्घाटनको आफूहरूले कुनै तयारी नै नगरेको भन्दै रद्दको प्रश्नै नआउने बताएको छ। बिसिसिआई स्रोतलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले उद्घाटन समारोहको बारेमा बिसिसिआईले औपचारिक घोषणै नगरेकाले रद्द गरिएको भन्ने समाञ्चार सत्य नभएको जनाएको छ।

निज्जर हत्याको बदला लिने धम्की

क्यानडेली मुलुकका खालिस्तानी नेता हरदीप सिंह निज्जरको क्यानडामा नै हत्या भएपछि भारत र क्यानडाबीचको सम्बन्धमा पछिल्लो समय चरम संकट पैदा भएको छ।

यस्तोमा केही दिनअघि सिख फर जस्टिस (एसएफजे) का सदस्य गुरपतवंन्त सिंह पन्नुले भारतमा हुने विश्वकपमा आफूले आक्रमण गर्ने धम्कीसहितको अडियो टेप सार्वजनिक गरेका थिए।

अडियोमा उनले ५ अक्टोबरमा विश्वकप नभई आतंकवादीहरूको वर्ल्ड कप सुरु भएको भन्दै नरेन्द्र मोदी स्टेडियममा खेल हर्न पुग्ने दर्शकको हातमा खालिस्तानी झन्डा लहराउने घोषणा गरेका थिए।

उनले आफ्ना सहकर्मी निज्जरको हत्याको बदला पनि लिने घोषणा गरेका थिए। धेरैले यही घटनाका कारण बिसिसिआई उद्घाटन समारोह गर्नबाट पछि हटेको आकलन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here