“सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०”  भव्यताका साथ सम्पन्न

39

काठमाडौं  । काठमाडौं उपत्यकामा साताव्यापी सञ्चालित “सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह – २०८०” शुक्रबार एक कार्यक्रमका बिच समापन भएको छ । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरि ट्राफिक सप्ताह २०८० को समापन गरिएको हो ।

“बिस्तारै गए अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न” भन्ने ट्राफिक स्लोगानलाई सम्झदै कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालिकाका उपप्रमुख डंगोलले  सडक सुरक्षामा ट्राफिक प्रहरीको मात्र नभएर सबैको जिम्मेवारी उत्तिकै रहने र ट्राफिक सप्ताह कार्यक्रमको आज समापनको दिन भएतापनि यो सडक सुरक्षाको सवालमा भने सुरुवातको रुपमा लिनुपर्ने बताउनु भयो ।

यस्तै, आगमी तीन महिना भित्र काठमाडौँ उपत्यकाका मुख्य चोकमा सि.सि क्यामेरा र ट्राफिक लाईटको व्यवस्था  गर्ने, सडक धुलो रहित बनाउने र सडकमा भएका खाल्डा खुल्डी पुर्ने योजना समेत रहेको पनि उँहाले बताउनु भयो ।

ट्राफिक सप्ताहको प्रभावकारिताबारे कार्यक्रममा सहभागी सबैलाई प्रकाश पार्नु हुँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले” विश्वभर करिब साढे १३ लाख भन्दा बढी मानिसले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेको र नेपालमा भने औषत दैनिक ६ जनाको दरले वार्षीक रुपमा करिब २५ सय जनाको सवारी दुर्घटनामा मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नु हुँदै जिवन रक्षा जस्तो बिषयमा संवेदनशिल हुनुपर्नेमा जोड दिंदै स्वागत मन्तव्य राख्नु भएको थियो ।

ट्राफिक सप्ताहको अवसरमा करिब ५,२६५ जना स्वंमसेवक परिचालन गरिएको, २,५६० जनालाई ट्राफिक सचेतना प्रशिक्षण प्रदान गरिएको, ८६५ जना चालक तथा परिचालकको स्वास्थ्य परिक्षण गर्नुकासाथै ८० हजार ट्राफिक चेतनामूलक स्टिकरहरू वितरण गरिएको जानकारी गराउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले धन्यवाद दिदै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्नुभयो ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, वरिष्ठ कलाकार मनोज गजुरेल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर लगायतले पनि आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि गत आइतबार देखि सुरु गरिएको ट्राफिक सप्ताहको अवसरमा चोक-जक्सनको जेब्राक्रसिङ्ग, आकाशेपुलमा ट्राफिक स्वयंसेवक परिचालन, चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी लक्षित चालक, परिचालक तथा यात्रु सँग २ मिनेट कार्यक्रम, यात्रुहरूको बढी चाप  हुने स्थानमा सन्देशमूलक अडियो भिडियो  सामग्री प्रदर्शनी र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा चेतनामूलक प्रभातफेरी गरिएको  थियो ।

यस्तै, नेपाल प्रहरी अस्पतालको प्रविधिक सहयोगमा रक्तदान कार्यक्रम, स्थानीय निकाय र स्थानीय प्रहरीसँग समन्वय गरि संयुक्त रुपमा सडक सुरक्षा तथा ट्राफिक व्यबस्थापन सम्बन्धी अन्तरक्रिया एवं नागरिक सुनवाई कार्यक्रम समेत गरिएको थियो । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्धारा ट्राफिक सप्ताहमा गरिएका विविध कार्यक्रमको संयुक्त रुपमा तयार पारिएको सडक सुरक्षा सम्बन्धी वृत्तचित्र समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

सडक सुरक्षा तथा सडक सचेतना सप्ताह -२०८० लाई सफल बनाउन स्वंम सेवक पठाएर महत्वपुर्ण भूमिका खेल्ने ११ ओटा संघसंस्था,  उत्कृष्ट कार्य गर्ने ५ जना ट्राफिक प्रहरी कर्मचारी, ३ जना काठमाडौं महानगर प्रहरी बलका कर्मचारी र ७ जना चालक तथा परिचालकलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा माननीय उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट विधिवत् रुपमा उद्घाटन गरिएको ट्राफिक सप्ताह,  मातहतका ट्राफिक प्रहरी कार्यालयहरूको अगुवाई तथा स्थानीय तह, विभिन्न संघसंस्थासँगको समन्वय तथा सहकार्यमा ट्राफिक चेतनामूलकहरू कार्यक्रम गरी भव्यताका साथ सम्पन्न भएको छ । यातायात व्यवस्था विभाग र सडक विभागका महानिर्देशक, यातायात व्यवसायी, नेपाल सेवा दल, स्काउट, विद्यार्थी, स्वयंसेवकहरू, र पत्रकारहरूको लगायतकाको  कार्यक्रममा उपस्थिती रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here