काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने भएको छ । मंगलबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको हो ।
यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा दुई पटक गठबन्धनको सरकार बनेको थियो । पहिलो पटक सरकार गठनमा सभामुखको हस्ताक्षर प्रयोग गरेपछि सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको थियो ।
कोशी प्रदेशमा नयाँ सरकार निर्माणका लागि सभापति देउवाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने यादवको भनाइ छ । उनका अनुसार प्रधानमन्त्री प्रचण्ड र देउवाको छलफलपछि आज-भोलि नै गठबन्धनको बैठक बस्ने छ । ‘कोशी प्रदेशमा केन्द्रीय गठबन्धन अनुसार नै सरकार बन्छ । आज- भोलि नै गठबन्धनको बैठक बस्छ होला ।’
कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका लागि असोज २६ गते साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् । ९३ सदस्यीय प्रदेशसभामा कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४७ सांसद छन् ।
एमालेका सभामुखको जिम्मेवारीमा रहेकी उपसभामुख सिर्जना दनुवारसहित ४० र राप्रपाका ६ सांसद छन् । सत्ता गठबन्धनले राप्रपालाई पनि साथमा लिएर सरकार बनाउने प्रयास थालेको छ । प्रधानमन्त्री प्रचण्ड र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच कोशीको सत्ता समीकरणबारे छलफल हुने यादवको भनाइ छ ।


















