२७ औं वर्ष प्रवेश गरेको बुद्ध एयरले नयाँ जहाज भित्राउने घोषणा

79

काठमाडौं । स्थापनाको २६ वर्ष पूरा गरेर बुधबारदेखि २७ औं वर्ष प्रवेश गरेको बुद्ध एयरले नयाँ जहाज भित्राउने घोषणा गरेको छ । अहिलेसम्म २ करोडभन्दा बढी यात्रु उडाइसकेको कम्पनीले अक्टोबर महिनाभित्रै आफ्नो १७ औं जहाज नेपाल भित्रने घोषणा गरेको हो ।

नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान थालेको बुद्ध निजी लगानीको सबैभन्दा ठूलो नेपाली वायुसेवा हो । बुद्ध एयरसँग अहिले ३ वटा एटीआर–४२ तथा १३ वटा एटीआर–७२ जहाज रहेका छन् ।

बुद्ध एयरले अक्टोबर महिनाभित्रै थप अर्को एटीआर जहाज भित्राउने भएको छ । त्यसपछि कम्पनीसँग १७ जहाज संख्या पुग्ने छ ।

जहाज मर्मतसम्भारका लागि बुद्ध एयरसँग अत्याधुनिक ह्याङ्गर रहेको छ । बुद्ध एयरले आफ्ना जहाज मात्रै मर्मतसम्भार नगरी स्वदेशी तथा विदेशी कम्पनीहरुलाई पनि सेवा दिइरहेको छ ।

वातावरणमैत्री जहाजका साथै हवाई कम्पनीमा कार्यरत टेक्निकल, पाइलट तथा ग्राउन्ड अपरेसन टिमका आफ्ना जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमनकारी निकायको आवश्यकता अनुसार निरन्तर क्षमता अभिवृद्धि गरिरहेको बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले बताए ।

बुद्धले विभिन्न गन्तव्यमा उडान संख्या समेत बढाएको बताएको छ । अहिले पोखराका लागि दैनिक १७, विराटनगर तथा भैरहवाका लागि क्रमशः ९ र १० उडान गरिरहेको छ ।

यसबाहेकका गन्तव्यमा दैनिक आधा दर्जनभन्दा बढी उडान हुने गरेको छ । नयाँ जहाज आएपछि बुद्धले सुर्खेत, तुम्लिङटार तथा धनगढीमा पनि उडान थप्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here