म्याग्दी । मुस्ताङका नेपाल-चीन सीमा क्षेत्रका दुई गाउँपालिकाका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न थालिएको छ । चीनको सिमानामा रहेका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दालाई चीन प्रस्थान प्रवेश अनुमतिपत्र वितरण गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले स्थानीय तहको सिफारिसका आधारमा इलाका प्रशासन कार्यालय लोमान्थाङमा खटिएका प्रशासनका कर्मचारीले चीन प्रस्थान प्रवेश अनुमतिपत्रको आवेदन सङ्कलन गरेको जानकारी दिए । ‘मङ्गलबारदेखि आवेदन सङ्कलन भइरहेको छ’, उनले भने, ‘इलाका र जिल्ला प्रशासन कार्यालयमा अधिकृतस्तरका अन्य कर्मचारी नभएकाले म आफै लोमान्थाङ पुगेर अनुमतिपत्रमा हस्ताक्षरण गर्ने तयारीमा छु ।’
प्रवेशपास भएका नागरिक जुनसुकै समयमा पनि चीन जाने र आउने सुविधा पाउनेछन् । बोर्डर पास वितरणका लागि तीन कर्मचारीलाई सोमबार इलाका प्रशासन कार्यालय लोमान्थाङ पठाइएको थियो ।
कोरोना महामारी सुरु भएपछि कोरला नाकामा हरेक वर्षको दुई पटक सञ्चालन हुँदै आएको अन्तरदेशीय व्यापार मेला विसं २०७६ देखि भएको थिएन । दसैँ अघि नै व्यापार मेला आयोजना गर्ने मुस्ताङका सुरक्षा अधिकारी र जनप्रतिनिधिले पहल गरेका छन् ।
यही असोज ३ गते चिनियाँ दूतावासले पठाएको कूटनीतिक नोट गृह मन्त्रालयले मुस्ताङ प्रशासनलाई पठाएर नाका खोल्ने तयारी गर्न भनेको छ । प्रमुख जिल्ला अधिकारी पन्तले केही दिनमा नेपाल र चीनका अधिकारीबीच बैठक बस्ने तयारी भएको बताए ।
सन् १९६० को दशकमा चीनमा तिब्बत् गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमिको प्रयोग गरेर विद्रोहमा उत्रिएका थिए । सोही विद्रोहका कारण विसं २०३२ देखि कोरला नाका आवतजावतमा कडाइ गरिएको थियो । विसं २०५८ सम्म रोकटोक नरहेको सीमा २०५९ देखि चीनले तारबार गरेर मेला बाहेकको अवधिमा बन्द गर्दै आएको छ ।
नाका सञ्चालन भएपछि मुस्ताङका बासिन्दालाई दैनिक उपभोग्य, निर्माण सामग्री, लत्ताकपडालगायत सामग्री सस्तोमा आयात गर्न पाउने अपेक्षा गरेका छन् । यसैगरी पश्मिना, जडीबुटी निकासी गर्न सकिने लोमान्थाङ गाउँपालिकाका–५ का वडाध्यक्ष ढुढुके विष्टले बताए । RSS


















