इजरायलमा मारिएका १० नेपालीको शव ल्याउन एक साता लाग्ने

34

काठमाडौं । कूटनीतिज्ञ विजयकान्त कर्णले इजरायलमा मारिएका १० नेपालीको शव ल्याउन एक साता लाग्ने बताएका छन् । पोस्टमार्टम वा सम्बन्धित देशको निश्चित कानुनी प्रक्रिया पूरा नगरीकन शव ल्याउन नपाइने भएकाले त्यसमा विलम्ब भएको उनको भनाइ छ ।

‘यसबारे हिजो परराष्ट्रमन्त्री एनपी सावदसँग मेरो कुराकानी भएको थियो । सरकार मृतकको शव ल्याउन तयार छ । तर विदेशी मुलुकबाट पोस्टमार्टम वा निश्चित कानुनी प्रक्रिया पूरा नगरीकन शव ल्याउन पाइँदैन । म डेनमार्कमा (राजदूत) हुँदाखेरि यस्तै घटना परेको थियो । मन्त्री र सांसदहरुले ताकेता गर्नुभएको थियो । झन्डै १५ दिन लागेको थियो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कर्णले भने, ‘इजरायलमा नेपालीको मात्र होइन, १२-१३ सय विदेशीको शव छ । पोस्टमार्टम गर्न समय लाग्छ । मलाई लाग्छ, विद्यार्थीहरुको शव अब बढीमा एक हप्ताभित्र ल्याउन सकिन्छ ।’

कूटनीतिज्ञ कर्णले इजरायल घटना दुःखदायी भए पनि अब कानुनी प्रक्रिया कुर्नुको विकल्प नभएको औंल्याए । उनले थपे, ‘त्यहाँ नेपालको कानुन अप्लाई हुँदैन, इजरायलको कानुन अप्लाई हुन्छ । शव ल्याउन हाम्रो इजरायली राजदूतावास कटिबद्ध भएर काम गरिरहेको छ । नेपालमा रहेका महामहिम इजरायली राजदूत पनि यसमा संवेदनशील हुनुहुन्छ ।’

अर्को प्रसंगमा कर्णले नेपाली कांग्रेसभित्र विभिन्न समूहहरुबीच सन्तुलन नभएकाले कोसी प्रदेशमा समस्या आएको टिप्पणी गरे । उनले भने, ‘यो कुराको शेरबहादुरजीले पहिले नै ख्याल गर्नुपर्थ्र्यो । कांग्रेसको नेता दुई-दुईचोटि सफल नभएपछि तेस्रो क्यान्डिडेट अघि सार्नुपर्थ्र्यो । शेखर कोइरालाका केही कन्सर्न बेलैमा समाधान गर्न सकेको भए यस्तो समस्या आउने थिएन । यसलाई नेपाली कांग्रेसले नै व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’

कोसी प्रदेशका कारण केन्द्रीय सरकारमा केही अप्ठ्यारो नहुने पनि उनको विश्लेषण छ । उनले भने, ‘संयुक्त सरकारको व्यवस्थापन केही समस्या हुन्छन् । गठबन्धनका घटकहरुबीच आपसी समझदारी हुनुपर्छ । यो कुरा हामीले २०५१ देखि २०५६ सम्म भोगेकै हो । कोसी प्रदेशका कारण केन्द्रीय सरकारमा केही अप्ठ्यारो होला वा तुरुन्तै एमाले र माओवादी सरकार बन्ला भन्ने पनि लाग्दैन । प्रचण्ड र शेरबहादुर देउवा गठबन्धनमा प्रतिबद्ध नै देखिन्छन् । अहिले कोसी प्रदेशको समस्या प्रचण्ड, शेरबहादुरजी र शेखरको सहमतिमै समाधान भयो ।’

अर्को प्रसंगमा कर्णले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको भ्रमणलाई लिएर नेपालमा अनावश्यक हल्ला भइरहेको टिप्पणी गरे । उनले भने, ‘हामीले आफ्नो भनेको भूमि अहिले भारतको नियन्त्रणमा छ । त्यसकारण भारतीय प्रधानमन्त्री पूजाका लागि जानु अनौठो भएन । सडकमा राष्ट्रवाद देखाएर मात्र केही हुनेवाला छैन । त्यो अब विवादित भूमि हो । भारतको सेना त्यहाँ हामीसँग सोधेर बसेको छ ? भारतले हामीलाई सोधेर सडक बनाएको छ अनि भारतीय प्रधानमन्त्री हामीसँग सोधेर आउँछन् ? यो आफूलाई तथाकथित राष्ट्रवादी देखाउने नौटंकी मात्र हो ।’

नेपाल र भारतबीचको सीमा विवाद वार्ताबाटै समाधान गर्नुपर्ने कर्णले औंल्याए । उनले भने, ‘नेपाल र भारतबीचको सीमा विवाद हामीले कसरी समाधान गर्न खोजेका छौं ? वार्ता, युद्ध वा सडकबाट ? सडकमा टायर बालेर अनि संसद्मा हल्ला गरेर समाधान हुन्छ ? सडक र सदनको प्रेसर गर्दा सरकारले गर्नै सक्दैन । भारत र चीन त वार्तामा छन् भने हामीले वार्ताबाहेक विकल्प सोच्न सक्छौं ? यसको समाधान प्रावधिक र राजनीतिक रुपमा खोज्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here