सेतो टीका लगाएर थारू समुदायले दसैं मनाए

45

दाङ । दाङमा थारू समुदायले दसैं मनाएका छन्। थारू समुदायले यस वर्षको बडादसैं नवमीको दिन सेतो टीका लगाएर  हर्षोल्लासका साथ मनाएका हुन्।

बडादसैंको अघिल्लो दिन थारू समुदायले दसैं मनाउने चलनअनुसार दाङका थारूहरूले टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिएर मनाएका छन्।

थारू समुदायले पञ्चमीदेखि नै  पूजाआजा गर्ने र समुदायको अगुवा बडघर महतवाका घरमा जम्मा भएर नाचगान गर्दै बेलुकीपख टीका र जमरा लाएर दसैं मनाउने गर्छन्।
यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरमा रहेको निजी निवासमा दसैं मनाएका छन्। मुख्यमन्त्री चौधरीले अभिभावकबाट टीकाग्रहण गरे भने थारू समुदायका युवाहरूलाई पनि टीका लगाइदिएका छन्।

थारूको परम्पराअनुसार दसैंको अघिल्लो दिन सेतो चामलको पीठोको टीका लगाएर मनाइएको मुख्यमन्त्री चौधरीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here