काठमाडौं । सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो ।
त्यसमा भारत सरकारलाई ४० प्रतिशत कर तिर्नु पर्छ, त्यहाँबाट नेपाल ल्याउँदा ढुवानी भाडा सबै जोड्दा त त्यो चिनी नेपालमा ल्याएर बिक्री गर्न सकिने अवस्था नदेखिएकाले खरिद नगर्ने निर्णयमा पुगेको ती कम्पनीले बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति महाशाखाका प्रमुख गजेन्द्रकुमार ठाकुरले चाडपर्वलाई लक्षित गरेर मन्त्रालय तहबाट यो पटक अनुदानमा चिनी खरिद असम्भव भएको स्वीकार गरे । उनले भने, “चिनी खरिदका लागि कर्पोरेसन र खाद्य कम्पनीबाट प्रक्रिया अगाडि बढाएका हौँ तर झनै चर्को मूल्य प¥यो, त्यो चिनी ल्याएर नेपालमा बिक्री गर्न सम्भव देखिएन ।”
आपूर्ति मन्त्रालयले विभिन्न सरोकारवालासँग व्यवसायी, उद्योगीलाई राखेर सोमबार र मङ्गलबार लगातार चिनीकै विषयमा विभिन्न विकल्पमा छलफल ग¥यो तर औपचारिक माध्यमबाट चिनी ल्याउन सकिने अवस्था अहिलेसम्म फेला नपरेको सो महाशाखाका प्रमुख ठाकुरको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

















