देउवातन्त्र, ओलीतन्त्र र प्रचण्डतन्त्रले सिध्यायो गणतन्त्र !

28

नेपालमा केही दशकयता मुख्य तीन पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र छन् । यिनै पार्टीहरु नै क्रमशः सरकारको नेतृत्व तहमा छन् । हालसम्म यिनै पार्टीले पटकपटक गरेर सरकारको नेतृत्व गरिसकेका छन् । तर, यिनै राजनीतिक दलका नेतृत्वका कारण पछिल्लो समय ल्याइएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भने जोखिममा परेको छ । विधिको शासन कायम र आर्थिक समृद्धिको बेलाबेलामा सपना देखाएर पनि पूरा गर्न नसकेका कारण यी राजनीतिक दलका नेतृत्वप्रति जनताको वितृष्णा बढ्दै गएको हो ।

देशमा लोकतन्त्र र गणतन्त्र व्यवस्था भए पनि राजनीतिक दलमा भने नेताहरुको एकलौटी शासन देखिन्छ । अझ भन्नुपर्दा नेपालका राजनीतिक दलहरुमा अहिलेसम्म लोकतन्त्र आउन सकेको छैन । अहिले पनि नेतृत्व तहलाई हरेक निर्णयका लागि जिम्मेवारी सुम्पने र नेतृत्वको तोकआदेशका भरमा पदाधिकारी चयन हुने चलन कायम नै छ । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेकपा एमालेमा केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रमा पुष्पकमल दाहाल प्रचण्डको नै एकलौटी शासन लामो समयदेखि चल्दै आएको छ । कांग्रेसका हालका सभापति शेरबहादुर देउवा लामो समयदेखि कांग्रेसको उच्च तहमा रहेर नेतृत्व गरिसेकका नेता हुन् । उनी पछिल्लो समय मात्र दुई पटक पार्टीको सभापति भइसकेका छन् ।

दोस्रो पटक सभापति भएको पनि दुई वर्ष बित्न लाग्दा पनि उनको कार्यशैली भने पुरानै छ । कांग्रेसको आकार, प्रकार र अवस्था फेरिएको छ तर संगठन चलाउने तौरतरिकामा कुनै परिवर्तन आएको छैन । महाधिवेशन पछिका वर्षमा कांग्रेसमा नीतिमा पनि स्पष्टता आउन नसकेको आलोचना हुने गरेको छ । यस्तै, विधि, विधान र थिति बस्ने, बसाउने काम पनि हुन सकेको छैन । पार्टीमा युवा नेताको आगमन भए पनि उनीहरुले जिम्मेवारी काम देखाउने मौका पाएका छैनन् । अझै पुरानै पुस्ता हाबी छ । यो समस्या कांग्रेसमा मात्र नभई एमाले र माओवादीमा पनि उस्तै छ ।

एमालेमा लामो समयदेखि अध्यक्ष ओलीले नेतृत्व गरिरहेका छन् । ओलीकै नेतृत्वमा माओवादीसँगको गठबन्धनमा अघिल्लो चुनावमा एमालेले बहुमत हासिल गरेको थियो । त्यसपछि माओवादीसँग एकीकरण भई ठूलो वामशक्ति नेकपा पनि निर्माण भयो । तर, त्यो धेरै दिनसम्म टिक्न सकेन । पछिल्लो चुनावमा एमाले दोस्रो स्थानमा छ भने केन्द्रदेखि प्रदेशसम्म सत्ताबाहिर छ । देशको वर्तमान अवस्था हुनुमा एमाले र यसको नेतृत्व ओली पनि जिम्मेवार रहेको जनमत छ । तर, ओली अझै पनि एमालेको नेतृत्व छाड्ने मनसायमा छैनन् । माओवादीमा पनि तीन दशकदेखि प्रचण्डले नै नेतृत्व गरिरहेका छन् ।

ऐतिहासिक जनयुद्धदेखि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र पहिलो संविधानसभा चुनावमा माओवादीलाई पहिलो पार्टी बनाउने श्रेय प्रचण्डलाई जान्छ । तर, हालसम्म आइपुग्दा माओवादीको अवस्था दयनीय बनेको छ । पछिल्लो चुनावमा तेस्रो स्थानमा खुम्चिएको माओवादीप्रति जनताको वितृष्णा चरम रुपमा छ र यसको जिम्मेवार पनि उनी प्रचण्ड हुन् । तर, उनी पनि नेतृत्व छाड्न तयार छैनन् । नेपालको राजनीतिक दलमा कुनै व्यक्तिले लामो समयसम्म नेतृत्वलाई ओगटिरहने र सुशासन तथा विकास दिन नसक्ने प्रवृत्तिका कारण गणतन्त्रात्मक व्यवस्था नै जोखिममा परेको छ, आगे गणतंत्रबादी आवरणका साम्राज्यबादका दलाल सामन्त नेताहरुलाई चेतना भया !  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here