काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्सेले उच्चतम २०१६ अंक टेकेर फर्किएको छ । दिउँसो १२:११ बजेसम्म उकालो लाग्दै नेप्से २०१६ अंकसम्म पुगेकोमा अन्ततः बन्द हुँदा दुई हजारमुनि अर्थात् १९८८ अंकमा कायम भयो ।
अघिल्लो दिनको तुलनामा भने नेप्से २.६ अंक बढेको हो । त्यस्तै कारोबार रकममा गिरावट देखिएको छ । मंगलबार ४ अर्ब ३० करोड रुपैयाँको धितोपत्र कारोबार भएकोमा बुधबार भने ३ अर्ब ९० करोडमा खुम्चियो ।
बोटलर्स नेपाल (बालाजु)को मूल्य १० प्रतिशत बढ्यो । मोलुङ हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ९.७, दोल्ती पावरको ८.९ तथा एक्सल डेभलपमेन्ट बैंकको ७.७ प्रतिशत मूल्य बढ्यो ।
कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, अरुण काबेली पावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।