विराटनगर । मोरङ व्यापार संघले आयोजना गर्ने ‘मोरङ व्यापार संघ एक्स्पो (एमबीएस एक्स्पो)२०२३’ को स्थानीय कर नतिरेको पाइएको छ ।
एक्स्पोको उद्घाटन आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् । एक्स्पो आयोजक समितिले स्थानीय सरकारलाई तिर्नुपर्ने मनोरञ्जन कर अहिलेसम्म तिरेको छैन ।
एक्स्पो आयोजकलाई पटक पटक आग्रह गर्दा पनि अग्रिम मनोरञ्जनकर दाखिला नगरेको उनले जानकारी दिए । एक्स्पो आयोजक समिति संयोजक अनिलकुमार शाहले कर तिर्ने बताए । मनोरञ्जन करको विषयमा भने उनले जतिको बिल बनाउँछन् त्यती नै तिरिदिने जनाए । ‘जतिको बिल बनाउँछ भन्नुहोस् न उसलाई(महानगरपालिका), कतिको बनाउँछन् तिर्दिन्छौं,’ उनले भने, ‘उनले भने जतिको बिल बनाएर दियो त्यती तिर्न तयार छौं ।’
विराटनगर महानगरपालिका–२ शंकरपुर मार्गमा आजदेखि सुरु हुने मोरङ व्यापार संघ एक्स्पो–२०२३ पुस १६ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा कृषिजन्य उत्पादन, पर्यटन, हस्तकला, अटोमोबाइल र औद्योगिक प्रदर्शनीका लागि २४० वटा स्टल राखिएका छन् ।
एक्स्पो आयोजना गर्दा करिब ४ करोड खर्च हुने बताएको आयोजक समितिले एक्स्पोमा १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने जनाएको छ । एक्स्पोमा स्वदेशी औद्योगिक र कृषि उत्पादनसहित भारत, बंगलादेश र पाकिस्तानका औद्योगिक उत्पादनको प्रदर्शनी हुनेछ ।


















