विराटनगर । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका- १० का चण्डेश्वर सहनीको कैद भुक्तान अवधी आज सकिंदै थियो । आजै छुट्ने तयारीमा रहेका सहनीको बिहान करिब साढे ६ बजे मृत्यु भएको छ ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार सहनी कैद भुक्तान गरी आज छुट्ने दिन थियो ।
सहनीको मृत्युपछि मात्रै कारागारले परिवारलाई जानकारी गराएको थियो । जिल्ला कारागार मोरङका निमित्त जेलर कृष्णहरि न्यौपानेले सम्पर्क नम्बर गलत हुँदा आफन्तलाई जानकारी दिन ढिलो भएको जनाए ।
लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मंसिर २० गते १० महिना २२ दिन कैद सजाय सुनाएको थियो । अदालतले फैसलापछि फरार उनी २०७९ माघ १७ गते कारागार चलान भएका थिए ।
मंसिर २१ गते पनि मोरङ कारागारमा लेटाङ नगरपालिका-४ घर भएका ३७ वर्षीय केशरबहादुर भुजेलको शंकास्पद मृत्यु भएको थियो । मृत्युपछि आफन्तले शव बुझ्न मानेनन्, शवमा चोटपटक देखिएका कारण आफन्तले शव बुझ्न नमानेपछि स्थानीय प्रशासनले छानविन समिति गठन गरेको थियो । छानबिन समितिले काम सुरु गरेपछि उनका आफन्तले पोष्टमार्टम गरी शव बुझेका थिए ।
क्षमताभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा चौकिदारले विभिन्न बाहानामा कैदीबन्दीलाई यातना दिएको गुनासो आइरहन्छन् । महिला पुरुष गरी ३०० जना क्षमता रहेकेाम मोरङ कारागारमा पुरुष ९४८, महिला ८९ र नाबालक ७ जना गरी जम्मा १ हजार ४४ जना कैदीबन्दी छन् ।


















