सुनसरी । रोजगारीका लागि कतार पुगेका झापा कन्काई नगरपालिका–४ त्रिवेणी टोलका सुभाष राउत आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाएको तीन वर्षपछि नेपाल फर्किएका छन् । उनी २० लाख रुपैयाँ ब्लडमनी तिरेर नेपाल फर्किएका हुन् ।
त्यसपछि उनको परिवारले हारगुहार गर्दै देशविदेशमा बस्ने नेपालीबाट ब्लडमनी संकलन अभियान सञ्चालन गरेको थियो ।
‘उनलाई कतारको अदालतले मृत्युदण्डको फैसला सुनाएपछि ब्लडमनी संकलन मृतक राईको परिवारलाई बुझाएपछि उनी केही दिनअघि नेपाल आइपुगेको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । ‘सुरुमा परिवारले ९० लाख रुपैयाँ ब्लडमनीबापतको पैसा मागेको रहेछ,’ नगर प्रमुख पोखरेलले राजधानीसँग भने, ‘पछि परिवारसँग समन्वय गरी २० लाख रुपैयाँ बुझाएर नेपाल फर्काउन सफल भयौं ।’
आफ्नै कोठामा बस्ने साथीको हत्या अभियोगमा तीन वर्षदेखि मृत्युदण्ड कुरेर बसेका उनी साथीभाइ र छरछिमेकीको सहयोगमा अन्ततः नेपाल फर्किएका हुन् । हत्या हुने र आरोपी दुवै नेपाली भएकाले ब्लडमनी तिरेर नेपाल फर्काउन सहज भएको हो । -राजधानी दैनिक


















