काठमाडौं \ विश्वभर जहाँ र जुन पक्षबीच युद्ध भए पनि त्यहाँ कुनै न कुनै नेपालीको मृत्यु हुने दुर्भाग्य नेपालले भोग्दै आएको छ । इतिहासदेखि चल्दै आएको त्यो दुर्भाग्यको सिलसिला आगामी दिनमा झनै देखिने भएको छ । विश्वशक्तिका दुई ध्रुव रुस र अमेरिकाको कलह र यसबीचमा रुसी सेनामा नेपालीको आकर्षणले गर्दा आगामी दिनमा यी दुई देशको टकरावमा नेपाली पर्ने भएका हुन् ।
दुई वर्षयता रुस र युक्रेनबीच युद्ध जारी छ । युक्रेनको पछाडिबाट अमेरिका र पश्चिमा राष्ट्रले रुससँग युद्ध लडिरहेका छन् । आफ्नो सीमानजिक अमेरिकी सेना आउने भएपछि रुसले युक्रेनसँग युद्धको घोषणा गरेको थियो । तर, युद्ध लम्बिँदा रुसी सेनामा विदेशी नागरिक पनि भर्ती हुने क्रम बढिरहेको छ । आकर्षक तलबका कारण लोभिएका नेपाली नेपालमा बेरोजगारीका कारण पनि विदेशिन बाध्य छन् । त्यही कारण रुसी सेनामा भर्ती भएका उनीहरुमध्ये एक दर्जनको त युद्धका क्रममा मृत्यु भइसकेको छ । कैयौं घाइते पनि भएका छन् । निश्चित सन्धिसम्झौताको बाहेक नेपालले अन्य देशका सेनामा नेपालीलाई भर्ती हुन अनुमति दिएको छैन । त्यसअनुसार रुसी सेनाले नेपालीलाई भर्ना गर्नु गैरकानुनी हो । नेपालले यही प्रावधान सम्झाउँदै भर्ना भएका नेपालीको विवरण, उनीहरुको अवस्था जानकारी गराउन र उनीहरुलाई फिर्ता गर्न रुसलाई पटकपटक आग्रह गरिरहेको छ ।
नेपालले काठमाडौंस्थित रुसी राजदूत र जर्मनीस्थित दूतावासबाट पनि पहल गरिरहेका छ । तर, नेपालको आग्रहलाई रुसले बेवास्ता गदै आएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पछिल्लो घोषणाले त रुसी सेनामा भर्ती हुने नेपालीको संख्या झनै बढ्ने र यसले भविष्यमा हताहतीको संख्या पनि उत्तिकै रहने सम्भावना पनि बढाएको छ । यही पुस १९ मा पुटिनले नयाँ आदेश जारी गरी रुसका निम्ति लड्ने विदेशी नागरिक र उसको परिवारलाई त्यहाँको नागरिकता तथा पासपोर्ट प्रदान गर्ने घोषणा गरेका थिए । पुटिनले युक्रेनमा ‘विशेष सैन्य अपरेसन’ जारी रहेको समयमा रुसी सेनामा भर्ती हुने विदेशी नागरिक, उसको श्रीमती, छोराछोरी र बाबुआमालाई त्यहाँको नागरिकता प्रदान गर्न अनुमति दिएका हुन् ।
रुसी सेनामा भर्ती हुनेले कम्तीमा एक वर्षका निम्ति सेनामा रहने सम्झौता गरेको खण्डमा ऊ र उसको परिवारका सदस्यलाई सुरुमै त्यहाँको नागरिकता प्रदान गरिने र रुस आउन दिने नयाँ घोषणामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय न्युज एजेन्सीले जनाएका छन् । रुसी सेनामा भर्ती हुने विदेशी नागरिक र उसको परिवारका सदस्यले आवेदन दिएपछि त्यहाँको नागरिकता र पासपोर्ट दिने प्रक्रिया सुरु गरिने आदेशमा उल्लेख छ । यो प्रक्रियाको टुंगो एक महिनामा लाग्ने जनाइएको छ ।
पुटिनले यस्तो बेला नयाँ आदेश जारी गरेका छन्, जति बेला नेपालले त्यहाँको सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुसलाई भनिरहेको छ । नेपालले रुसी सेनामा भर्ती भई मारिएका नेपालीको शव पठाउन, उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र भर्ती हुनेको पूर्ण विवरण मागिरहेको छ । रुसी सेनामा भर्ती हुन जानेलाई रोक्न नेपाल सरकारले अनेक प्रयास गरिरहेको छ । तर, त्यो सफल हुन सकेको छैन ।
वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष म्यानपावर कम्पनीमार्फत एक जना पनि नेपाली रोजगारीका लागि रुस गएका थिएनन् । चालु आर्थिक वर्ष सुरु भएको ४ महिनामा २ सय ९८ जना नेपाली रोजगारीका लागि रुस गएको विभागको तथ्यांक छ । साउनमा म्यानपावर कम्पनीमार्फत ३१, व्यक्तिगत १८ र पुनः श्रम स्वीकृतिमार्फत ४ जना गरी ५३ जना, भदौमा म्यानपावर कम्पनीमार्फत ६१ र व्यक्तिगत ९८ गरी १ सय ५९ जना, असोजमा म्यानपावर कम्पनीमार्फत १० र व्यक्तिगत ३१ गरी ४१ जना, कात्तिकमा म्यानपावर कम्पनीमार्फत २७ र व्यक्तिगत १५ जना गरी ४१ जना नेपाली युवा रुस गएका छन्। गत आर्थिक वर्षमा व्यक्तिगत रूपमा ३ सय ८६ जना नेपाली वैदेशिक रोजगारीमा रुस गएको विभागले जनाएको छ ।
म्यानपावर कम्पनी र एजेन्टहरूले वैदेशिक रोजगार विभाग र श्रम कार्यालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर व्यक्तिगत श्रम स्वीकृति लिएर नेपाली युवालाई रुस पठाइरहेको पाइएको छ । म्यानपावर कम्पनी सञ्चालन अनुभव भएका केही व्यक्ति र एजेन्टको गिरोहले नेपाली युवालाई युद्धग्रस्त देश रुस पठाइरहे पनि सरकारी निकाय मौन बसेको वैदेशिक रोजगारविज्ञको आरोप छ । सरकारी कर्मचारीले पैसाको प्रलोभन परी रुसमा नेपाली युवा पठाउन गिरोहलाई सहयोग गरिरहेको उनीहरूको आरोप छ ।
वैदेशिक रोजगारीका लागि सामान्य फाराम भर्नसमेत अलमलिने शैक्षिक हैसियतमा रहेका युवाले व्यक्तिगत रूपमा रुसको भिसा प्राप्त गर्नु असम्भव छ । त्यसैले पनि रुस जान व्यक्तिगत भिसा प्रयोग भएको तथ्यांक हेर्दा सेटिङमै श्रम स्वीकृति जारी भइरहेको दाबी गर्न सकिन्छ । रुसमा युद्धमा परी नेपालीको मृत्यु भएपछि मिलेमतोमा श्रम स्वीकृति दिने सरकारी कर्मचारीबारे छानबिन गर्नुपर्ने दबाब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई परेको छ । पछिल्लो समय भारत, यूएई र कतार हुँदै पनि नेपाली युवा रुसी सेनामा भर्ती हुन जाने गरेका छन् ।
नेपालको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै विभिन्न समयमा नेपाली युवालाई विदेशी सेनामा भर्ती गर्ने सन्धिसम्झौता भएका थिए । त्यही कारण आज पनि भारत, बेलायत, सिंगापुर, ब्रुनाइ जस्ता देशका सेनामा नेपाली आबद्ध हुँदै आएका छन् । यसबाहेक पछिल्लो समय अमेरिका र अन्य देशका पनि सेना र प्रहरीमा नेपाली युवा सहभागी भइरहेका छन् । अहिले रुसी सेनामा पनि ठूलो संख्यामा नेपाली युवा भर्ती भएका हुन् । यसले विगतमा यी देशहरुको युद्धको अवस्थामा मारिनेमा नेपाली पनि हुने निश्चित नै छ । आज नागरिकता र बसोबासको प्रलोभन दिएर रुसले भर्ना गरेजस्तै भोलि अमेरिका लगायत अन्य देशले पनि नेपालीलाई आधिकारिक रुपमा नै यस्तै प्रलोभनमा लिने सम्भावना छ । यदि त्यस्तो अवस्था आएमा स्थिति झन् भयापूर्ण हुनेछ । जनधारणा साप्ताहिकबाट

















