बेनी । म्याग्दीको प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निः शुल्क भरिदिन थालेको छ। आफैँ अनलाइन फारम भर्न नसक्ने सेवाग्राहीहरुले शूल्क तिरेर व्यवसायीको सहायता लिनुपर्ने बाध्यता हटेको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले प्रशासन कार्यालयमा बिहीबारदेखि निशूल्क फारम भरिदिन थालेको जानकारी दिए। ‘राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्नका लागि छुट्टै कर्मचारी, कम्प्युटर र प्रिन्टरको व्यवस्था मिलाएका छौं,’ उनले भने ‘आफैँ भर्न सक्नेले आफैँ भर्नुहुन्छ। नसक्ने सेवाग्राहीले बजारका साइबरमा शूल्क तिरेर राष्ट्रिय परिचयपत्रको अनलाइन फारम र विवरण भर्नु पर्दैन्। कर्मचारीले भरिदिने व्यवस्था मिलाएका छौँ।’
निःशुल्क रुपमा प्रशासनमै अनलाइन फारम भर्दा खर्चको बचत र झञ्जट हटेको बेनी नगरपालिका–२ गौस्वाराकी सपना केसीले केसीले बताइन्। जापानबाट आएकी केसी म्याग्दीमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भर्ने निशुल्क सेवा लिने पहिलो सेवाग्राही हुन्।
बजारको साइबरमा राष्ट्रिय परिचयपत्रको अनलाइन फारम भरेको एक सयदेखि दुई सय रुपैयाँ शूल्क लिने गरेका सेवाग्राहीले बताएका छन्।
म्याग्दीमा दैनिक ३५ जनाले राष्ट्रिय परिचयपत्रको अनलाइन फारम, विवरण भर्ने र बायोमेट्रिक गर्ने सेवा लिने गरेका छन्। व्यक्तिको आँखा, अनुहार, हात, औँठाछाप आदिको डिजिटल (विद्युतीय) विवरण संकलन गर्ने आधुनिक प्रणालीलाई बायोमेट्रिक भनिन्छ।


















