काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक डाक्न निर्देशन दिनुभएको छ । उहाँले प्रतिष्ठानका उपकुलपति डा. प्रह्लाद कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर समितिको बैठक बोलाउन निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले उपकुलपति डा. कार्कीलाई भन्नुभयो, “तपाईंले पदाधिकारीलाई काठमाडौं नबोलाउनुस्, तपाईं धरान जानुस् । कार्यकारिणी समितिको बैठक बोलाउनुस् । अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस् ।”
यसैबीच प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले यही माघ २ गते नै स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिनुभयो ।
















