तातोपानीबाट तेस्रो मुलुकका लागि खाद्य वस्तु निर्यात

45

काठमाडाैं । नेपाल चीन उत्तरी सीमानाका तातोपानीबाट तेस्रो मुलुकका लागि खाद्य वस्तु निर्यात भएको छ। उत्तरी नाका भएर चीनको सेन्जेन पोर्ट हुँदै तेस्रो मुलुक जापानमा खाद्य वस्तु पठाइएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

तातोपानी भन्सार प्रमुख दयानन्द केसीका अनुसार चीनको सेन्जेन पोर्ट ट्रान्जिट भएर उत्तरी तातोपानी नाकाबाट नेपालकै इतिहासमा पहिलोपटक निर्यात सुरु भएको हो। उनले शुक्रबार २४ सय बाक्सा वाइवाइ जिङ चाउचाउ बोकेको कन्टेनर चीन प्रवेश गरेको जानकारी दिए।

नेपालतर्फबाट भन्सार कागजात पूरा गरेर मितेरी पुलमा चिनियाँ पक्षलाई हस्तान्तरण गरिएको केसीले बताए। उनले भने, ‘अहिले तेस्रो मुलुकमा निर्यातको लागि सामान ढुवानी सिल्क ट्रान्सपोर्टले गरेको छ। तातोपानी नाकाबाट आयातनिर्यातको ढुवानीमा सिल्क ट्रान्सपोर्टले गर्दै आएको छ।’

सिल्क ट्रान्सपोर्टका विजय शेर्पाले नेपालबाट हामीले तेस्रो मुलुकमा निर्यातको सामग्री ढुवानी गर्न थालेको बताए। उनले भने, ‘आगामी दिनमा हामीले जापान, कोरिया, भियतनामलगायत तेस्रो मुलुकमा माग बमोजिमको सामग्री ढुवानी गर्न सक्नेछौँ।’ उताबाट के कस्तो सामग्रीको माग आउँछ त्यहीअनुसार निर्यातको सामग्री ढुवानी गर्ने शेर्पाले बताए।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेतले पछिल्लो समय तातोपानी नाकामा चहलपहल बढ्दै गएको बताए। उनले भने, ‘यसलाई बिस्तारै बढाउदै लैजानुपर्नेछ।’

नेपाल चीनको छोटो उत्तरी नाका तातोपानी भएकाले नाका व्यवस्थापन गरेर अघि बढ्नुपर्ने बस्नेत बताउँछन्। उनका अनुसार ढुवानी भाडा कम र चीनको जुनसुकै सहरबाट छोटो समयमा व्यापारीले सामान आयात गर्न सक्ने नाका हो तातोपानी।

नाका गत वैशाख १८ गतेबाट दुईतर्फी रूपमा सञ्चालन भएको हो। पछिल्लोपटक चीनबाट आयातमा वृद्धि भएको छ। तातोपानी भन्सार कार्यालयका अनुसार पछिल्ला दिनहरुमा दैनिक २५ कन्टेनर सामग्री नेपाल भित्रिने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here