दूरसञ्चार प्राधिकरणको अध्यक्षमा २५ जनाले प्रतिस्पर्धा गर्ने

30

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न २५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । प्राधिकरणका अध्यक्षका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सल्लाहकार भुपेन्द्र भण्डारीदेखि साझा प्रकाशनका पूर्व महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मासम्मले आवेदन दिएका छन् ।

टेरामक्स र एमडीएमएस प्रणाली खरिद विवादमा परेपछि २४ पुसमा तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका थिए । त्यसपछि मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि सचिव रामकृष्ण सुवेदीको नेतृत्वको सिफारिस समितिले १४ माघमा अध्यक्ष पदका लागि आवेदन माग्दै सूचना निकालेको थियो ।

जसमा सञ्चार मन्त्रीका सल्लाहकार रहेका भण्डारीदेखि विभिन्न संस्थानहरूमा यसअघि नेतृत्व गरिसकेकाहरु आकांक्षीका रुपमा देखिएका छन् । प्रतिस्पर्धामा प्रबल दावेदार मानिएका भण्डारी गत ५ असारको मन्त्रिपरिषद्‌ बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको दूरसञ्चार तथा सूचना प्रविधि सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोसमेतको लगानीमा बुरुण्डीमा चलेको स्मार्ट मोबाइलमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर २००८ देखि २०१५ सम्म काम गरेका भण्डारीले सियरालियोनको इन्टरग्रुप टेलिकममा सीईओ भएर काम गरेका थिए ।

यस्तै बाग्लुङ-९का डोलिन्द्रप्रसाद शर्मा भने अनियमितताको आरोपमा  ८ असोज २०७४ साझाबाट बर्खास्तिमा परेका थिए । भण्डारी र शर्मासहित रेडियो नेपालका पूर्व कार्यकारी निर्देशक सुरेशकुमार कार्की पनि प्रतिस्पर्धामा छन् ।

यस्तै अनिल झा, मैनेजरप्रसाद साह, रोहित रौनियार, देवनारायण यादव, प्रकाश बराल, नगेन्द्र कुमार दास, नन्दविक्रम अधिकारी र माधवप्रसाद रेग्मीले आवेदन दिएका छन् । सागरनाथ उपाध्याय, सुशील ओझा, रामदेव यादव, नवीन जीसी, गिरिन्द्रराज अधिकारी, जनार्दन भट्ट र लक्ष्मीप्रसाद पण्डितले पनि दाबेदारी प्रस्तुत गरेका छन् ।

यस्तै दामोदर रेग्मी, शैलेन्द्र गिरी, श्रीकृष्ण सुवेदी, पंकजकुमार दास, गोकर्णप्रसाद सिटौला, चित्रसिंह बुढाथोकी मगर र कमलप्रसाद खनालले पनि आवेदन दिएका छन् ।

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिको लागि ऐन र नियावलीअनुसार योग्यता नराखिएको विवाद भएपछि सर्वोच्च अदालतमा रिट समेत परेको छ ।

प्राधिरकण अध्यक्ष बन्न आवेदन दिएकाहरुले आफू नियुक्त हुन विभिन्न राजनीतिक दलका नेता र मन्त्रीहरुसँग लबिइङ सुरु गरिसकेका छन् । सचिव  सुवेदीको नेतृत्वको समितिले ३ जनाको नाम सिफारिस गरेर मन्त्रिपिरषदमा नियुक्तिका लागि सिफारिस गर्नेछ । त्यसैअनुसार मन्त्रिरपरिषदले एक जनालाई अध्यक्ष नियुक्त गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here