यो निर्वाचनको नतिजा फेब्रुअरी ९ अर्थात् भोलि (शुक्रबार) आइसक्नेछ । निर्वाचन सुरु भएदेखि नै पाकिस्तानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । योसँगै विपक्षी पार्टी पाकिस्तान तेहरिक ए इन्साफले वर्तमान सरकार तानाशाही भएको प्रतिक्रिया दिएको छ ।
पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले आम मानिसका लागि इन्टरनेट र फोन सेवा खुला हुनुपर्ने माग गरेको छ । तर, गृह मन्त्रालयले भने आतंकवादी घटना रोक्न इन्टरनेट र फोन सेवा बन्द गरिएको बताएको छ । निर्वाचनको पूर्वसन्ध्यामा बुधबार पाकिस्तानमा विस्फोटनको घटनामा २८ जनाले ज्यान गुमाएका थिए । राष्ट्रियसभाको ३३६ सिटका लागि मतदान भइरहेको हो । सरकार बनाउन १६९ सिट जिते पुग्छ ।
दुई वर्षअघि अविश्वासको प्रस्ताव पारित भएपछि पूर्वप्रधानमन्त्री इमरान खानको सरकार ढलेको थियो । उनी अहिले भ्रष्टाचारको मुद्दासँगै अन्य मुद्दामा जेलमा छन् र १४ वर्षको जेल सजाय सुनाइएको छ । यस्तै, तीनपटक देशको प्रधानमन्त्री बनिसकेका नवाज सरिफ चुनावी मैदानमा छन् ।
पाकिस्तान अहिले आर्थिक संकट, महँगी, चरमपन्थी घटना र सन् २०२२ को भीषण बाढीले निम्त्याएको गहिरो समस्याबाट प्रताडित छ ।

















