राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औँ वार्षिकोत्सव सम्पन्न

18

काठमाडाैं ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औँ वार्षिकोत्सव सम्पन्न भएको छ।

सोमबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा आयोजित विशेष समारोहबीच सम्पन्न भएको हो।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षणलगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक इन्द्रप्रसाद तिवारीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेका छन्।

यस्तै, उनले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा संचालन गरी दक्ष एवम् व्यवसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनिय योगदान पुर्‍याउने गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा कास्कीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेललाई प्रशंसापत्र प्रदान गरेका छन्। साथै उनले प्रतिष्ठानलाई सहयोग गर्ने केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेलाई प्रशंसापत्र प्रदान गर्नुका साथै रस्साकस्सी खेलका विजेतालाई पुरस्कार समेत प्रदान गरेका छन्। उनले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०८०’ को लोकार्पण समेत गरेको प्रहरीले जनाएको छ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले अख्तियार गरेका नीतिको सफल कार्यान्वयन तथा संगठनले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्न व्यावसायिक तवरले प्रशिक्षित जनशक्तिद्वारा स्वतस्फूर्त रूपमा प्रदर्शित हुने निःस्वार्थ सेवा भाव र कर्तव्य बोधद्वारा प्रेरित कामकारबाहीबाट मात्र सम्भव हुने बताएका छन्। समग्र संगठनको श्रीवृद्धि गर्न, समय, समाज र संगठनको आवश्यकता अनुसारको जनशक्तिको उत्पादन प्रहरी प्रशिक्षण र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख ध्येय हुनुपर्ने उनले बताए।

प्रहरी सेवा संवेदनशील र चुनौतीपूर्ण पेशाको रूपमा रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, ‘यस सेवालाई सामान्य पेशा वा जीविकोपार्जनको एउटा माध्यमको रूपमा मात्र ग्रहण गर्ने कर्मचारीलाई व्यावसायिक सफलता प्राप्त गर्न कठिन हुन्छ भन्ने प्रारम्भिक ज्ञान हरेक प्रहरीले तालिमका दौरान नै बुझेको हुनुपर्दछ। प्रहरी सेवा केवल एक पेशा मात्रै हैन यो एउटा जीवनशैली हो र संगठनमा नवप्रवेशी सदस्यहरुलाई त्यो जीवनशैलीमा ढाल्ने प्रारम्भिक मार्ग प्रहरी प्रशिक्षण नै भएकोले यहाँका हरेक कर्मचारी सर्वोत्कृष्टताको अब्बल उदाहरण हुनुपर्छ।’

सो अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं वहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहँदै आएको बताए। साथै उनले प्रतिष्ठानले प्रशिक्षणको गुणस्तरमा सुधार तथा एकरूपता ल्याउन प्रशिक्षण पूर्वाधार तथा प्रशिक्षण मापदण्डको विकास, प्रशिक्षण पाठ्य सामग्री निर्माण र समयानुकूल परिमार्जन, प्रशिक्षणमा प्रविधिको प्रयोग जस्ता क्षेत्रमा प्रतिष्ठानले सक्रियता बढाउँदै आएको बताए।

प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा रस्साकस्सी खेलको फाइनल प्रदर्शन तथा संगीत विद्यालयबाट सांगीतिक प्रस्तुति गरिएको थियो।

समारोहमा पिजिडिपिएस कार्यक्रमका सल्लाहकार प्रा.डा. राजीव विक्रम राणा, पूर्व प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व समादेशकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित अतिथिहरूलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here