वाफ महिला च्याम्पियनसिप खेल्न नेपाली टोली घोषणा

21

काठमाडौं । साउदी अरेबियामा आयोजना हुने वाफ महिला च्याम्पियनसिप २०२४ का लागि नेपाली टोली घोषणा भएको छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

प्रशिक्षक तामाङले रक्षक सविना चौधरी तथा मिडफिल्डर सरस्वती हमाल र चन्द्र भण्डारीलाई पहिलाे पटक राष्ट्रिय टोलीमा मौका दिएका छन् ।

बन्द प्रशिक्षणबाट सपना राई, गंगा गुरुङ, प्रतिक्षा चौधरी, दीपा न्यौपाने, सम्झना लावती, अन्जली मचामसी, अनुष्का शेर्पा र मनमाया दमाइ बाहिरिएका छन् ।

प्रतियोगिताको समूह ‘बी’ मा नेपाल प्यालेस्टाइन, सिरीया र इराक छन्  । यसैगरी आठ टोलीको सहभागिता रहने प्रतियोगितामा आयोजक साउदी अरेबिया, ग्वाम, लेबनन र जोर्डन समूह ‘ए’ मा परेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा सिरीयाको सामना गर्नेछ । सिरीयाविरुद्धको खेल फेब्रुअरी २० मा हुनेछ । त्यसको दुई दिनपछि नेपालको सामना इराकसँग हुनेछ । समूहको अन्तिम खेलमा नेपालले फेब्रुअरी २४ मा प्यालेस्टाइनविरुद्ध खेल्नेछ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । गल्फ राष्ट्रहरु प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालले यसपाली आमन्त्रित टोलीका रूपमा सहभागिता जनाउन लागेको हो । फेब्रुअरी १९ देखि २८ सम्म हुने प्रतियोगिताको समूह चरणका खेलहरु जेडाह सहरस्थित किङ अब्दुल्ला स्पोर्टस सिटी रंगशालामा हुनेछन् । सेमिफाइनल र फाइनल भने प्रिन्स अब्दुल्ला अल फैसल स्पोर्टस सिटीमा हुनेछन् ।

टोलीको सहायक प्रशिक्षकमा कमला राखल र श्याम मानन्धर छन् । त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले व्यवस्थापकमा ब्रिन्दा दीवान र गोलकिपर प्रशिक्षकमा उज्जवल मानन्धरलाई जिम्मेवारी दिएको छ ।

नेपाली टोली
गोलकिपरः एन्जिला तुम्बाप्पो सुब्बा, अन्जना रानामगर ,उषा नाथ,

रक्षकः अमृता जैसी, गीता राना, हीराकुमारी भुजेल, पुजा राना, विमला विक, निशा थोकर, समिक्षा घिमिरे, सविना चौधरी,

मिडफिल्डरः अमिषा कार्की, अनिता केसी, विमला चौधरी, अनीता बस्नेत, प्रीति राई, दीपा शाही, सरस्वती हमाल, चन्द्र भण्डारी

फरवार्डः सविता रानामगर, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, रेखा पौडेल

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here