ठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् ।
प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए ।
‘परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुछ,’ प्रधानमन्त्रीले भने, ‘रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ । युवाहरूमा आशाको रक्तसञ्चार भर्नु छ । नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ ।’
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधान समेत यही व्यवस्थाभित्र मात्रै सम्भव रहने उनले उल्लेख गरे ।

















