धारिलो हतियार प्रहार गर्दा आफ्नै  श्रीमतीको मृत्यु

47

रोल्पा । रोल्पामा एक युवाले धारिलो हतियार प्रहार गर्दा आफ्नै  श्रीमतीको मृत्यु भएको छ। प्रहरीले श्रीमतीको हत्या गरेको अभियोगमा माडी गाउँपालिका-१ जयलखसे गाउँका ३२ वर्षीय भीमबहादुर बुढालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो ३ बजेको घटनामा बुढाले घरको आँगनमा २८ वर्षीया श्रीमती मनकुमारीलाई घाँटीमा चक्कु जस्तो देखिने हतियारले प्रहार गरेका थिए ।

घाइते मनकुमारीको रगत बगेर शुक्रबार नै मृत्यु भएको थियो। घटना पछि घर्तीगाउँस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कृष्ण सोनीको नेतृत्वमा पुगेको टोलीले भीम बहादुरलाई तत्काल नियन्त्रणमा लिएको थियो ।

बुढाको घरमा १२ वर्षका छोरा र ५ वर्षकि छोरी छन्। गाउँलेका अनुसार दम्पती बीचमा घरायसी विवाद भएकाले दुर्घटना भएको हो। दुर्घटना हुनु अघिका दिनमा पनि उनले मादक पदार्थ सेवन गर्ने गरेको स्थानीयको भनाइ छ।

प्रहरीले भीमबहादुरलाई मादक पदार्थ सेवन गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको थियो। सुरुमा घटनामा प्रयोग गरिएको धारिलो हतियार बरामद गरिए पनि उनको घर खानतलासी गर्दा घरेलु हतियार (भरुवा बन्दुक) फेला पारिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम नारायण गुप्ताले बताए । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

घटनास्थल रोल्पा सदरमुकाम लिवाङ बाट करिब ३५ किलोमीटर पश्चिममा पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here