उपप्रमुख रेणुका देवी काफ्लेसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको मुद्दा दायर

10

काठमाडौं । सर्लाहीको हरिपुर नगरपालिकाका उपप्रमुख रेणुका देवी काफ्लेसहित १० जनाविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नगरपालिकाकी उपप्रमुख काफ्लेसहित, सदस्य वेद कुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमार र वडा नं. १ तत्कालीन वडा अध्यक्ष कुमार लामाले लखनदेखी नियन्त्रण तथा स्पर निर्माण कार्य सम्पन्न भएको भनी भुक्तानी गर्न प्रतिवेदन पेस गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा २ बमोजिमको कसुर भएको छ ।

नगर कार्यपालिकाको कार्यालय, हरिपुर, सर्लाहीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्र कुमार पौडेल, इन्जिनियर रञ्जित साह र सब–इन्जिनियर सञ्जीव चौधरीले आर्थिक वर्ष २०७५/०७६ मा वडा नं. १ स्थित लखनदेही खोला नियन्त्रण तथा स्मर निर्माणमा उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता भई नदी नियन्त्रण कार्य गर्दा लागत अनुमानमा ४,८१२.५० वर्गमिटरको ग्याबिन बक्स को प्रयोग गर्न तोकिएकोमा लागत अनुमानभन्दा कम ३,४९५.१५ वर्ग मिटरको परिमाणमा ग्याबिन बक्स निर्माण गरेको, लागत अनुमानमा ८,४०० घन मिटरको माटो पुर्ने काम तोकिएकोमा अनुमानभन्दा बढी गरी १४,७०० घनमिटरको परिमाणमा माटो पुर्ने काम भएकोले मनासिब कारण बिना सो निर्माण कार्यको आकार र रूप परिवर्तन गरेको, तटबन्धन कमसल हुन पुगेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

तर, उनीहरूले निर्धारित सर्त तथा मापदण्ड बमोजिम कार्य सम्पन्न भएको हो भनी प्राविधिक मूल्याङ्कनसहितको नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेत प्रमाणित एवम् स्वीकृत गरी उपभोक्ता समितिलाई ८५ लाख १८ हजार ६३१ रुपियाँ भुक्तानी दिई सरकारी सम्पत्ति हानी नोक्सानी पुर्‍याएको आयोगले जनाएको छ ।

नदी नियन्त्रण उपभोक्ता समिति, हरिपुर–१ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शमशेर बहादुर बस्नेत, सचिव इन्द्र बहादुर घिसिङ्गर कोषाध्यक्ष निर्मला कुमारी देवीले आर्थिक वर्ष २०७५/७६ मा सो निर्माण कार्यमा उपभोक्ता समिति र गाउँपालिकाबिच सम्झौता गरी कार्य सुरु गरी निर्माण कार्य सम्पन्न भएको प्रतिवेदन, विल भरपाई, डोरहाजिरी लगायतका कागजात पेस गरेको तर सर्त एवम् सम्झौता बमोजिम कार्य नगरी ८५ लाख १८ हजार ६३१ रुपियाँ रकम हिनामिना गरेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, सर्वोच्च अदालतमा प्रतिवादीहरू राजेन्द्र काफ्ले र सुशीला काफ्लेविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा पुनरावेदन गरेको छ ।आयोगका अनुसार विशेष अदालतबाट भएको फैसला चित्त नबुझेका कारण उनीहरुविरुद्धको मुद्दा सोमबार सर्वोच्चमा पुनरावेदन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here