काठमाडौं । काठमाडौं उच्च अदालत पाटनको मुख्य न्यायाधीश रहने मुकाम हेटौँडामै राख्न माग गर्दै स्वतन्त्र कानुन व्यवसायीहरूले ज्ञापनपत्र बुझाएका छन् । बुधबार स्वतन्त्र कानुन व्यवसायी मञ्चको तर्फबाट उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीलाई ज्ञापन पत्र बुझाइएको हो ।
बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडामा रहेको र उच्च अदालतको मुख्य न्यायाधीश रहने स्थान पनि हेटौँडा नै भई अस्थायी इजलास मात्रै पाटनमा हुनुपर्नेमा हेटौँडामा अस्थायी इजलास राखी पाटनमा मुख्य न्यायाधीश बस्ने कुरा कानुन सम्मत नभएको ज्ञापन पत्रमा उल्लेख छ ।
साे ज्ञापनपत्र यस्ताे भनिएको छ : ‘बागमती प्रदेशको राजधानी मकवानपुर जिल्लाको हेटौँडामा रहने भनी निर्णय भई प्रदेशको कामकाज सञ्चालन भइरहेको छ । बागमती प्रदेशको उच्च अदालत हेटौँडामा रहने स्पष्ट कानुनी व्यवस्था हुँदाहुँदै उल्लेखित कानुनी व्यवस्था विपरीत ललितपुर जिल्लाको पाटनमा उच्च अदालत रही कामकाज भएको कार्य त्रुटिपूर्ण छ । ऐनको दफा ५ (३) बमोजिमको अस्थायी इजलास बाहेक ललितपुर जिल्लाको पाटनमा उच्च अदालत रहन सक्दैन । बागमती प्रदेशको उच्च अदालतलाई हेटौँडाबाट सञ्चालन गर्न यस उच्च अदालतबाट जे जो गर्नुपर्छ गर्नको लागि तथा सो विषयमा जुन सम्बन्धित निकायले निर्णय गर्नुपर्ने हो नगरेको भएमा सो निकायसँग समन्वय तथा पत्राचार समेत गरी न्याय प्रशासन ऐन २०७३ को दफा ५ (१) को हुबहु कार्यान्वयन गरी गराई पाउन प्रस्तुत पत्राचार गरिएको छ । प्रस्तुत पत्र प्राप्त भएका मितिले ७ दिन भित्र कार्यान्वयन नगरिएमा चरणवद्ध रुपमा सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरी ऐनको प्रभावकारी कार्यान्वयन गराउन यस मञ्च बाध्य हुने ब्यहोरा समेत यसै पत्रद्वारा जानकारी गराइन्छ ।’
स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट अधिवक्ता यज्ञमणि न्यौपानेले बुझाएको ज्ञापन पत्रको वोद्यार्थ नेपाल बार एसोसिएसनलाई समेत दिइएको छ ।