बेपत्ता भएका बालकलाई खोज्न सेती नदीको बाँध खोलिने

10

पोखरा । सेती नदीमा हाम फालेर बेपत्ता भएका बालकलाई खोज्न सेती नदीको बाँध खोलिने भएको छ। बुधबार सेती नदीको बाँध खोलेर प्रहरीले खोजी गर्ने भएको हो।

फागुन १८ गतेदेखि बेपत्ता कास्कीको पोखरा महानगरपालिका–११ का १५ वर्षीय सुगम बास्तोला नदीपुरको पुरानो पुलबाट हाम फालेर बेपत्ता छन्।

सिसिटिभी फुटेजमा सुगमले सेतीमा हाम फालेको देखेपछि यसअघि पनि बाँध खोलेर खोजी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले बताए। उनका अनुसार नेपाल प्रहरीको उद्धार टोलीले सेतीमा सुगमको खोजी गरेको थियो। फागुन २२ गते पनि सेती नदीको बाँध खोलेर बहाव बढाएर खोजी गर्दा फेला नपरेको उनको भनाइ छ।

‘आफन्तको आग्रहपछि फेरि नदीको बाँध खोलेर भोलि खोजी कार्य हुँदै छ’, प्रहरी निरीक्षक रानाले भने।

बुधबार दिउँसो पोखराको दीपस्थित ड्याम खोलेर सेतीको बहाव बढाएर खोजी हुनेछ। दिउँसो १ बजेदेखि नदीमा पानीको बहाव बढ्ने भएकाले सचेत रहन जिल्ला प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ।

‘उक्त समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा नदी वरीपरी काम गर्ने तथा आवतजावत गर्ने मानिसहरु चनाखो भई कार्य गर्नु हुन, नदिको किनारमा नजानु हुन र सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिन्छ’, प्रहरीले जारी गरेको सूचनामा भनिएको छ।

यसअघि पनि पटक–पटक सेतीको बाँध खोलेर पानीको बहाव बढाइ बेपत्ता खोज्ने काम भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here