काठमाडाैं । आज काठमाडाैं उपत्यकामा तुवाँलो लागेको छ । हिजो अस्तिको जस्तै मौसम धुम्म नै छ ।
दिउँसोपख केही समय आकाश खुले पनि तत्काल तुवाँलो पूर्णरूपमा हट्ने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । तुवाँलो हट्न हावा र पानीको भूमिका हुन्छ । तर काठमाडाैं उपत्यकामा तत्काल पानी पर्ने सम्भावना छैन । हावा कतिबेला चल्छ पूर्वानुमान गर्न गाह्रो रहेको मौसमविद्ले जनाएका छन् । केही दिन यता काठमाडाैंमा वायु प्रदूषण पनि बढेको छ ।
बर्सेनि पि–मनसुनको यो बेलामा काठमाण्डौमा प्रदूषण उच्च हुने गरेको छ । अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव छ । पहाडी क्षेत्रमा मौसम आंशिक बदली तथा अरु बाँकी ठाउँमा सफा नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम आंशिक बदली रहेका कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

















