‘नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव’ हुने

7

काठमाडौं । आगामी मंसिर ५ देखि १४ गतेसम्म काठमाडौंमा ‘नेपाल अन्तर्राष्ट्रिय बाल-चलचित्र महोत्सव’ हुने भएको छ। विश्व कला दिवसको अवसरमा एलाइन्स फर चिल्ड्रेन फिल्म नेपाल (एसिएफ नेपाल) ले पहिलो पटक महोत्सव आयोजना गर्ने लागेको हो।

‘अभिभावक र नानीबाबु सँगसँगै’ भन्ने नारासहित कलाकार दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईले महोत्सवको प्रतीक चिह्न (लोगो) सार्वजनिक गर्दै महोत्सव घोषणा गरेका हुन्। ८ वर्षीय कलाकार प्रसन राई नविन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ को मुख्य कलाकार समेत हुन्।
विशेषगरी ३ देखि १८ वर्ष उमेर समूह र अभिभावक तथा शिक्षकलाइ लक्षित गरेर १० दिने बाल–चलचित्र महोत्सव आयोजना गर्न लागिएकाे हाे।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल–चलचित्र प्रदर्शन गरिने महोत्सवमा १८ वर्षभन्दा मुनिका फिल्म निर्माता (योङ्ग फिल्म मेकर) को फिल्म प्रतियोगिता तथा कार्यशाला गरिनेछ।

बालबालिकाको कला तथा बाल–पुस्तक प्रदर्शनीसहित बाल चलचित्र र यसको प्रभाबारे छलफल, निर्णायकको रुपमा बालबालिका समावेश तथा सहभागिता लगायतका कार्यक्रम तय भएका छन्।

एसिएफ नेपालको ‘बालबालिकाका लागि चलचित्र’को वातावरण सिर्जना गर्ने लक्ष्यसहित २०६९ (सन् २०१३) मा स्थापना भएको हो। जसमा चलचित्रकला मार्फत बालबालिकाको वैयक्तिक र व्यक्तित्व विकासमा सघाउने तथा चलचित्रमा बालबालिकाको विभिन्न सहभागितामार्फत् नेपाली चलचित्रको भविष्य पनि बलियो बनाउने उद्धेश्य राखिएको छ।

बालबालिकाको सिकाइको प्रक्रियामा चलचित्र माध्यमलाई समावेश गराउने तथा चलचित्र साक्षरताको विकास गर्ने उद्देश्य रहेको संस्थाका अध्यक्ष तथा नाट्यकर्मी केदार श्रेष्ठले जानकारी गराए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here