काठमाडौं । आइतबार सेयर बजार ४.५९ अंकले घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.५९ अंकले घटेर बन्द भयो । यो ०.२२ प्रतिशतको गिरावट हो ।
आइतबार परिसूचक घटेको दिन पनि ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । यसले आइतबार नेप्सेमा देखिएको ‘सेल प्रेसर’ झल्काउँछ । परिसूचक सामान्य अंकले घटेपनि ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् ।
इस्टर्न हाइड्रोपावर, शुभव पावर, सिटी होटल र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यसपछि भगवती हाइड्रोपावर डेभलपमेन्ट र सामलिङ पावर कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
यसक्रममा ५ वटा समूहको सूचक बढेको छ । होटल र टुरिजम, हाइड्रोपावर, लगानी, उत्पादनमूलक र अन्य समूहको सूचक बढेको हो । यसबाहेक सबैजसो समूहमा गिरावट आएको छ ।

















