काठमाडाैं । सौर्य एयरको विमान दुर्घटनामा घाइते भएका पाइलट (क्याप्टेन) मनीषरन्त शाक्यलाई आईसीयूबाट नर्मल वार्डमा सारिएको छ। काठमाडाैं मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. मीना थापाका अनुसार, उनलाई शुक्रबार बिहान आईसीयूबाट सारिएको हो।
दुर्घटनालगत्तै सुरुमा शाक्यलाई आकस्मिक कक्ष (ईमर्जेन्सी)मा पुर्याइएको थियो। जतिबेला उनको आँखामा चोट लागेको थियो भने शरिरका अन्य भागबाट रगत आएको थियो।
चिकित्सकहरूले उनको मेरुदण्डमा समस्या रहेको भन्दै अपरेसन गर्नुपर्ने बताएका थिए। यद्यपि, अहिलेसम्म उनको मेरुदण्डको अपरेसन भएको छैन।
उनका अनुसार, त्यतिबेला उनले आफूले टेकअफ गरेर १ सय मिटर माथि पुग्नेबित्तिकै जहाज आफ्नो कन्ट्रोलमा नआएको चिकित्सकहरूसँग सुनाएका थिए।
‘यो दुर्घटनाबारे छानबिन सुरु भइसकेको छ। छानबिनको विषय भएकाले हामीले उपचारमा रहनुभएका पाइलटसँग धेरै सोध्ने कुरा भएन।’ विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो। विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो। सोही दुर्घटनामा बाँच्न सफल भएका पाइलट शाक्यलाई २३ मिनेटपछि अस्पताल पुर्याइएको थियो।


















