काठमाडौं । काठमाडौं महानगरपालिकाको कमलादीमा सडक भासिएको छ । काठमाडौं महानगरपालिका कार्यालयअगाडि टुकुचा खोलामाथिको सडक भासिएको हो ।
सडक भासिएपछि सवारी आवतजावतनै बन्द भएको छ । सडक भासीएपछि महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमा सडक भासिएको भिडियो राख्दै स्पष्टीकरण दिएका छन् । ‘यो टुकुचामाथिको बाटो हो । अझै केही घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौं महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ ।
अदालती कारणले केही रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ ।’ उनले भनेका छन् । साथै मेयर शाहले सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाए महानगरले खोला खोल्ने काम तुरून्त अगाडि बढाउने जनाएका छन् । उनले भनेका छन्– ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’


















