बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह

34

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए।

उनले दुई तिहाईको सरकार भएको देशमा समेत प्रधानमन्त्री देशबाहिर भाग्नुपरेकोबारे अवगत गराए। उनले सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको उल्लेख गरे। नेपालमा आर्थिक अवस्था जर्जर रहेको उनको भनाइ थियो।

उनले भने, ‘सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने? त्यसबारेमा सोच्नुपर्छ। सरकारले खर्च गरिरहेको छ तर ठीक ठाउँमा गइरहेको छैन। ठीक ठाउँमा पुर्‍याउन दबाब दिनुहोला। बंगलादेश जहाँ दुई तिहाईको सरकार थियो, जहाँको ग्रोथ ११ प्रतिशतले बढिरहेको थियो, अचानक घटना भयो। प्रधानमन्त्रीले देश नै छोडेर हिँड्नुपर्ने स्थिति आयो। यो सामान्य घटना होइन।’

उनले थपे, ‘नेपालमा आर्थिक अवस्था जर्जर छ। राजश्व उठ्छ १०/११ खर्ब, चालु खर्चमा १२/१३ खर्ब हुन्छ। ऋण लिएर हामी चालु खर्च चलाइरहेका छौँ। तर बंगलादेशको त्यो होइन। बंगलादेशको त ११ प्रतिशतले आर्थिक वृद्धि भइरहेको थियो, दुई तिहाईको सरकार थियो। त्यस्तो देशमा त यो अवस्था आयो भने नेपालमा कुनै पनि बेला केही हुनसक्छ, त्यतातिर पनि सतर्क हुनुस्। किनभने सामाजिक सञ्जाल अहिले एकदम एग्रेसिपली विश्वमा आइरहेको छ, त्यसले धेरै विसंगति पनि निम्त्याइरहेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here