घुससहित पक्राउ परेका इन्जिनियरसहित ३ जना दोषी ठहर

36

पोखरा ।  घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर भएका छन्। घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर विशेष अदालतबाट दोषी ठहर भएका हुन्।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले इन्जिनियर बराल र सब–इन्जिनियर रोकायालाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवाना र ८ महिना कैद सजाय सुनाएको हो। घुस दिन मतियारको रूपमा काम गरेका सुरजलाई विशेष अदालतले आधा अर्थात् ८७ हजार ५ सय रुपैयाँ जरिवाना र ४ महिना कैद सजायको फैसला सुनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २८ गते पोखराबाट १ लाख ५० हजार रुपैयाँ घुससहित सब इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरजलाई रंगेहात पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा नाम जोडिएपछि केही दिनपछि अख्तियारले इन्जिनियर शिवप्रसादलाई पनि पक्राउ गरेको थियो।

अनुसन्धानपछि अख्तियारले गत वैशाख २० गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो  अनुसन्धानका क्रममा घुसबापतको २ लाख रुपैयाँ रकम इन्जिनियर बरालको खातामा गएको देखिएको छ। त्यो रकम जफत गरेर उजुरीकर्तालाई फिर्ता गर्ने फैसला अदालतले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here