काठमाडौं । काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । अहिले बिहान साढे १० बजेसम्म सबैभन्दा खराब वायु काठमाडौंको शंखपार्क क्षेत्रमा छ ।
सो क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ११३ रहेको वातावरण विभागको एयर क्वालिटी मनिटरिङ सिस्टममा उल्लेख छ । शंखपार्क क्षेत्रको वायुको गुणवत्ता खराब रहेको भनेर सुन्तला रंगले संकेत गरिएको छ ।
हावामा धुँलोका कण र धुँवाको मात्रा बढ्दा वायु प्रदूषित हुने गरेको छ । धूलोलाई पखाल्ने गरी पानी नपर्दासम्म र बेस्सरी हावा नचल्दासम्म प्रदूषण झन् बढ्ने गर्दछ । काठमाडौं उपत्यका वरिपरि अग्ला पहाड भएकाले कचौरा आकारमा धुलोका कण जम्मा भएर बस्न अनुकुल हुने गर्दछ । अहिले पोष्ट मनसुन अवधिमा काठमाडौंमा पानी समेत नपरेकाले वायु प्रदूषण बढेको हो ।
भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार आज बिहान भारतको आनन्दबिहारमा एक्यूआई (एयर क्वालिटी इन्डेक्स) ४०६ र अलिपुर क्षेत्रमा ४०३ मापन भएको थियो । यसले हावाको अवस्था गम्भीर श्रेणीमा पुगेको जनाउँछ ।
आज बिहान ८ बजे भारतको नयाँदिल्लीमा औसत एक्यूआई ३५६ थियो । दिल्ली आसपासका धेरैजसो स्थानमा एक्युआई ३५० देखि ४०० सम्म पुगेको देखिएको थियो । यसलाई हावाको गुणवत्ता निकै खराब स्तरमा पुगेको बुझिन्छ । वायु प्रदूषणका कारण आँखामा जलन, घाँटी खसखस हुने र श्वासप्रश्वासका बिरामी बढी मारमा पर्ने गरेका छन् ।


















