विराटनगर । नेकपा माओवादी केन्द्रले कोशीका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी मुछिएको घटनाको छानबिन गर्न माग गरेको छ ।
माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले बिहीबार एक विज्ञप्ति जारी गरी मन्त्रीको जापान यात्रा मानव तस्करीसँग जोडिएको भन्दै छानबिन गर्न माग गरेको हो ।
‘विदेश भ्रमणमा जाँदा त प्रदेश मन्त्रिपरिषद्को निर्णयसहितको सिफारिसको आधारमा संघीय सरकारले सहमति दिनुपर्ने प्रावधान रहेको छ,’ माओवादी केन्द्रकी सचेतक गीता तिम्सिनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसविपरित कुटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशवासीको शीर निहुरिएको छ ।’
मानव तस्करीको गिरोहले एक कार्यक्रममा सहभागी गराउन भन्दै मन्त्री अधिकारीलाई जापान लैजादा अन्य चार जनालाई पनि सँगै लगेको थियो । मन्त्रीको भ्रमण टोलीका चार जना शंकास्पद देखिएपछि टोकियो विमानस्थलबाट मन्त्री फर्किएका थिए ।
प्रहरीले उनलाई जापानको अध्यागमले डिपोर्ट गरेको बताएको छ । तर अधिकारीले भने मानव तस्करको समूहले आफूसँगै अन्य व्यक्तिलाई पनि पठाएको चाल पाएपछि आफू विमानस्थलबाट फर्किएको दाबी गरेका छन् ।
यो घटनामा जोडिएका ६ जनामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ भने मन्त्री अधिकारीले बुधबार राजीनामा दिएका छन् ।
हेर्नुहोस् माओवादीको विज्ञप्ति



















