रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट

54

पोखरा । सामाजिक सञ्जाल बिहीबार विहानैदेखि एउटा तस्बिरले गर्माएको छ । धेरैले राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेको हिरासतको तस्बिर भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

विस्तारामा टोपी लगाएका एक जना व्यक्ति सुतेका छन् । टेबलमा केही पुस्तक, पानीको बोत्तल देखिन्छ । अरु सामाग्री छन् । एक छेउमा रहेको प्याकेटमा ‘टोकला टि’ लेखेको भने स्पष्ट देखिन्छ । रवि निकटका रास्वपाका सहकोषाध्यक्षसमेत रहेका दीपक बोहोराले तस्बिर सार्वजनिक गर्दै रविकै भएको दाबी गरेका छन् ।

‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उदेश्यका लागि सार्वजनिक गरियो? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला’, उनले लेखेका छन् ।

उनले लाइभमा आएर त्यो तस्बिर एआइ जेनेरेट नभइ सीसीटिभीबाट खिचिएको जनाएका छन् । रविलाई भेटेर फर्किएपछि जिल्ला प्रहरी कार्यालय कास्कीको गेट नजिकैबाट लाइभ गरेका उनले आज प्रहरीले चेकजाँचमा कडाइ गरेको जनाउँछन् । ‘रवि लामीछानेलाई भेट्न जाँदा प्रहरी छेउमा उभिने, कुरा सुन्ने गरेका छन्’, उनले भने, ‘यो फोटो कसरी आयो विषयमा छानविन पनि सुरु गरेका छन् ।’

उक्त तस्बिर रास्वपा समर्थक रहेका डा. निकोलस भुसालले आफूले खिचेको दाबी गरेका छन् । ‘भाईरल फोटोबारे केही बेरमा लाइभ आउने छु । यो फोटो रियल हो मैले नै खिचेको हो । गल्ती भको हो माफी चाहन्छु’, उनले भनेका छन्, ‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध । म स्वास्थ्य अवस्था बुझ्न र हौसला प्रदान गर्न गएको थिए ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले तस्बिर सार्वजनिबारे अनुसन्धान भइरहेको बताए । फेक एआइले बनाएको तस्बिर हो या हिरासतकै तस्बिर हो भन्नेबारेमा उनले खुलाउन चाहेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here