काठमाडाैं । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको हो।
प्रधानमन्त्री ओलीले सम्बोधन गरेपछि राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि १.१२६ किलोमिटर सुरुङमार्गको ब्रेक थ्रु गरिएको हो।
प्रधानमन्त्री ओली स्थलगत रुपमा पुग्ने कार्यक्रम रहे पनि स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअलरुपमा कार्यक्रमलाई सम्बोधन गरेका थिए।
‘सुरुङमार्ग ब्रेक थ्रु हुनु सिङ्गै देशको खुसीको कुरा हो। अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन। हामीले यसलाई अझ सुगम बनाउनुछ,’ प्रधानमन्त्री ओलीले भने, ‘मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ। हामी अरुको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ हाम्रो देश। देशलाई फाइदा हुने कुराहरुमा सरकारको ध्यान जानेछ। हाम्रा प्रयासहरु यसैतर्फ केन्द्रित छन्।’

















