पाथिभरा केबलकार निर्माण रोक्न माग

52

काठमाडौं । सांसदहरूले पाथिभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन्।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आज (आइतबार) उनीहरूले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

बैठकमा सांसद राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथिभारा रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता  लडाउने काम भएको टिप्पणी गरे।

‘सरकार किन अनदेखा गरेको ? मन्त्री स्तरको वार्ता गर्न सरकार किन तयार नभएको’, सांसद लिङ्देनले भने, ‘सरकारी तवरबाटै पाथिभारा क्षेत्र व्यापारीको हातमा दिनका लागि योजनाबद्ध रुपमा काम भएको छ, सुरुमा कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथिभारालाई अलग गरियो, त्यसपछि व्यापारीलाई केबलकार बनाउन दिन निर्णय गरियो।’

अहिले जनताको इच्छाविपरीत राज्यशक्ति लगाएर निर्माण अघि काम बढिरहेको बताउँदै उनले जनताले उक्त धार्मिक स्थलमा केबलकार नचाहेको  र प्रतिकारमा उत्रिएको जानकारी गराए।

सांसद योगेश भट्टराईले ताप्लेजुङ् जिल्लास्थित पाथीभरा मुकुलुङ क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर केही दिनदेखि तनाव सिर्जना भइरहेको बताउँदै केबलकार बनाउने उचित हो वा होइन वार्ता र संवादबाट टुङ्ग्याउनुपर्ने जनाए।

सांसद तोसिमा कार्कीले सो क्षेत्रमा केबलकार निर्माण विवादरहित बनाउनुपर्ने उल्लेख गर्दै सरकारले बल प्रयोग गरेर नभई वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिइन्। साथै उनले सो आयोजनाको निर्माण तत्काल  स्थगन गरेर सरोकारवाला सबैसँग संवाद गरेर समाधान गर्न सरकारसँग आग्रह गरिन्।

सांसद माधव सापकोटाले सुशासन कायम गर्न नसक्दा नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिष्ट’मा पुगेको जनाए। उनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङको कार्यकक्षमा दुव्र्यवहार गर्नेमाथि कारवाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए। सांसद तारा लामाले कञ्चनपुरको बेलडाँडीमा बस्ती हटाउने नाममा स्थानीय प्रशासनबाट जनता घाइते भएको आरोप लगाउँदै घाइतेको उपचार गर्न र दोषीमाथी कारवाही गर्न सरकारसँग माग गरे।

केआइआइटी विश्वविद्यालयमा भएको घट्नाप्रति भत्सर्ना

सांसद पदम गिरीले गत आइतबार भारतको उडिसा राज्यको केआइआइटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै पीडितले आफूलाई मानसिक र शारीरिक यातना दिइरहेको र सुरक्षा चाहिएको भनेर जानकारी गर्दा पनि वेवास्ता गरिएकोप्रति भत्सर्ना गरे।

उनले त्यो घटनाप्रति आक्रोशित नेपाली विद्यार्थीहरुले विरोध गर्दा विश्वविद्यालयले स्थानीय गुण्डा र सुरक्षागार्ड लगाएर आफ्ना सामाना समेत लिन नपाइकन रेलवे स्टेसनमा पुर्‍याउने काम गरेको उल्लेख गर्दै विरोध जनाए।

सांसद रमा कोइरालाले विदेशमा भिजिट भिसामा जानेलाई कानुनी मान्यता दिन नहुने र गैरकानुनी बाटोबाट लगेर सूचीकृत गर्ने कुराप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले गैरकानुनीरुपमा मेनपावर कम्पनीले रोजगारीमा पठाएर कामदारलाई समस्यामा पार्ने गरेको र त्यसमा महिला कामदारहरु बढी मारमा पर्ने गरेको जनाइन्।

सांसद रघुजी पन्तले भारतको उडिसा राज्यको केआइआइटी विश्वविद्यालयको घटनापछि प्रधानमन्त्री र नेपाल सरकारको तत्कालको हस्तक्षेपले केही समस्या समाधान भएपनि पूर्णरुपमा समाधान नभएको बताए। उनले एक हजार ५०० विद्यार्थीमध्ये विभिन्न नाकाबाट पाँच सयभन्दा विद्यार्थी नेपाली विद्यार्थी स्वदेश फर्किरहेका बताउँदै नेपाललाई होच्याउने कार्य निन्दनीय भएको उल्लेख गरे।

सांसद पन्तले भने, ‘सबै विद्यार्थी छात्रवृत्तिमा पढने होइनन्। लाखौ पैसा बुझाएर पढिरहेका छन्। ती विद्यार्थीलाई सुरक्षितरुपमा त्यहाँ गएर पढने वातावरण मिलाउन जरुरी छ। भारतमा पढन जाने प्रत्येक विद्यार्थीको तथ्याङ्क राख्नुपर्ने र सकेसम्म विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण सिर्जना गर्न माग गर्दछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here