योगी आदित्यनाथको फोटो प्रधानमन्त्रीको निर्देशनमा राखिएको आरोप

30

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले हिजो भएको राजावादीको प्रदर्शनमा योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखिएको आरोप लगाएका छन्।

सोमबार समाजिक सञ्जालमार्फत उनले उक्त फोटो नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ‌ओलीको निर्देशनमा सल्लाहकार विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका हुन्।

‘फोटो कतै मिडियामा आउन पाको छैन, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले पहिले फेसबुकमा कसरी राखे? आन्दोलन कहाँ छ भन्ने कुरा कसरी थाहा भयो?,’ शाहीका अनुसार, ‘यो सबै उनीहरूको डिजाइन हो। आफैं लगाएर खिचे अनि राखे।’

साथै, उनले विदेशी एजेन्डा र सिद्धान्तमा पार्टी चलाउनेहरूले राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न त्यस्तो कुकर्म गरिएको भन्दै सोको विरोधसमेत गरेका छन्।

‘नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि,’ उनी थप्छन्, ‘विदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरुले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? मार्क्स, लेलिन, माओ कुन देशका हुन्?’

हिजो पूर्वराजा ज्ञानेन्द्र शाह लामो समयको पोखरा बसाईपछि काठमाडौं फर्किएका थिए। उनको स्वागतका लागि राप्रपाको निर्देशनमा राजावादीहरू त्रिभुवन विमानस्थलमा पुगेका थिए। सोही क्रममा भीडमा योगी आदित्यनाथको फोटो पनि देखिएको थियो।

योगीले राजा फर्काउन आह्वान गरेको भन्दै यसको चौतर्फी चर्चा, बहस र आलोचनासमेत भइरहेको छ। यसैको खण्डन गर्दै राप्रपका प्रमुख सचेतक शाहीले उक्त फोटो एमालेकै निर्देशनमा राखिएको पाइएको जनाएका हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here