काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको बढ्दो सक्रियताप्रति सरकार मौन बसेको भन्दै नेकपा (माओवादी केन्द्र)ले गम्भीर आपत्ति जनाएको छ।
आइतबार बसेको पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले सरकारको स्पष्ट नीति नआएको भन्दै आलोचना गरे।
महासचिव गुरुङले सरकारको भूमिका शंकास्पद रहेको भन्दै प्रश्न उठाए । “पूर्वदरबारियाका प्रतिगामी गतिविधिमा सरकार रमिता हेरेर बस्ने हो कि जिम्मेवार बन्ने हो भन्दै सरकारको नीति के हो भनी प्रश्न गरे । लोकतन्त्र र संविधानको रक्षार्थ सरकार सजग नहुँदा निराशा बढ्दै गएको उनको भनाइ छ ।
साे बैठकमा माओवादी केन्द्रले पूर्वराजाको गतिविधिहरू संविधानविपरीत रहेको निष्कर्ष निकाल्दै सदन र सडक दुवैबाट विरोध गर्ने निर्णय गरएको छ । महासचिव गुरुङले संविधान मिच्ने छुट कसैलाई नभएको भन्दै माओवादीले अब सदन र सडकबाट बिरोध गर्ने स्पष्ट पारे ।
सरकारको ढिलासुस्ती र कमजोरीकै कारण जनता निराश बनेको माओवादीले निष्कर्ष लिकालेको छ । माओवादी पार्टीले भ्रष्टाचार, अकर्मण्यता र नालायकी प्रवृत्तिविरुद्ध सशक्त रूपमा आवाज उठाउने निर्णय समेत गरेको छ।
माओवादी केन्द्रको यो धारणा सरकारको आगामी कदमलाई कसरी प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ ।

















