प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने

40

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनता सडकमा उतारेर खबरदारी गरिने जनाएका छन्। मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।

अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्वहरुले धमिलो पानीमा माछा मार्न खोजेको उल्लेख गर्दै उनले यी दुबै हर्कतका विरुद्ध आवश्यक परे लाखौं जनता सडकमा उतारेर खबरदारी गर्ने जनाए ।

अहिलेको राजनीति परिवर्तन विशेषतः संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको प्रचण्डले स्पष्ट पारे।

अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने चेतावनी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here