त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ६२ आंगिक र एक हजार बढी सामुदायिक क्याम्पसमा विद्यार्थीहरूको प्रतिनिधिमूलक थलो स्ववियुको निर्वाचन जारी रहेकाे छ । मतदान बिहान ८ बजेदेखि सुरु भएकाे अपराह्न ४ बजेसम्म मतदान गर्न पाउने छ ।
हरेक दुई–दुई वर्षमा स्ववियु चुनाव हुनेगर्छ। विवादका कारण केही क्याम्पसमा २०६५ सालदेखि नै निर्वाचन हुन सकेको छैन।
काठमाडौं उपत्यकामा त्रिवि केन्द्रीय क्याम्पस, रत्नराज्य, त्रिचन्द्र, शंकरदेव, पब्लिक युथ, सरस्वती, अमृत साइन्स, विश्वभाषा लगायत क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन प्रभावित बनेको छ।
काठमाडौं उपत्यकाका महेन्द्ररत्न क्याम्पस, जनप्रशासन, मीनभवन, आइओएम महाराजगञ्ज, पुल्चोक इन्जिनियरिङ, थापाथली इन्जिनियरिङ, सानोठिमी, पाटन संयुक्त, ललितकला आदिमा चुनाव हुँदैछ।
उपत्यकाबाहिर मोरङ डिग्री क्याम्पस, पृथ्वीनारायण, ठाकुराम बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस इलाम, मकवानपुर बहुमुखी क्याम्पस लगायतमा चुनाव हुँदैछ। एक सय भन्दा बढी सामुदायिक क्याम्पसमा अध्यक्षसहित पदाधिकारी निर्विरोध चुनिइसकेका छन्।
विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन सुरु भएकाे छ।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ। जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन्।
विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन्। उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ।
सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ। विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ।
स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो। यसको निष्पक्ष छानबिन गर्न पनि सो संगठनले माग गरेको छ।
यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ। निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी गराए । सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी संगठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ। स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ।


















