काठमाडौं । आउँदाे जेठ अन्तिम साता काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन आयोजना हुने भएको छ।
२३ जेठमा काठमाडौंमा इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना हुने तय गरिएकाे थियाे ।
ठकुरीले भने,’केही सिक्ने र केही सिकाउने मन्चका रुपमा यो कन्फ्रेन्स थालनी गर्न लागेका छौं। परम्परागत रुपमा चल्दै आएको नेपालको रनिङ विधाका साथै समग्र नेपाली खेलकुदको विकासमा यो कन्फ्रेन्स कासेढुंगा सावित हुने अपेक्षा हामीले गरेका छौं।’
दक्षिण एशियाबाहिर अन्य एशियाली मुलुकहरुमा यस्तो प्रतियोगिताको आयोजना हुँदै आएको भएपनि नेपालमा भने पहिलो पटक कन्फ्रेन्स हुन लागेको ठकुरीले जानकारी दिए। थाइल्याण्डमा हरेक बर्ष एशिया रोड रेस फोरम हुनेगर्द छ। हरेक बर्ष अलग स्थानमा गर्ने अवधारण बमोजिम भियतनाम, सिंगापुर, इन्डोनेसियामा मास पार्टीसिपेसन वल्र्ड(एमपिडब्ल्यु) कार्यक्रम हुँदै आएको छ।
रेस नेपाल र नेपालगञ्ज म्याराथनले इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागेको हो। विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठकको अवसर पारेर कन्फ्रेन्सको यात्रा आरम्भ गर्न लागिएको ठकुरीले जानकारी गराए।
कन्फ्रेन्स आयोजनाका लागि नेपालका प्रमुख रनिङ इभेन्ट आयोजक, एथलेटिक्सको विकासमा क्रियाशील व्यक्तित्व र संस्थाका साथै शिक्षा, खेलकुद, पर्यटन, सामाजिक तथा आर्थिक क्षेत्रका अगुवालाई समेटेर मुल आयोजक समिति गठन गरिने र कन्फ्रेन्समा समेत सहभागी गराइने उनले जनाए।
कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चारवटा सेसन रहने छन्। पहिलो सेसनमा एम्सका प्रेसिडेन्ट पाको बोराओसँग बिशेष साक्षात्कार हुने छ। पाको विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् ।
त्यसैगरी, विश्व प्रतिष्ठित म्याराथनका प्रमुख व्यक्तित्वहरुले विभिन्न सत्रमा आफ्ना अनुभव साँट्ने छन्। हरेक सत्रमा दुई विदेशी र दुई नेपाली गरी चार वक्ता र एक सहजकर्ता रहेने जनाइएको छ। वक्ता र सहजकर्ताका बारेमा चाँडै टुंगो गरिने आयोजकले जनाएको छ।
एम्सको बोर्ड बैठक लगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरु रहेको मुल आयोजक समिति गठन गरिने छ। कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतना, इन्डोनेसिया, सिंगापुर लगायत दक्षिण एशियाली राष्ट्रहरु गरी दुई दर्जन बढी देशका प्रतिनिधिको सहभागिता रहने छ।


















