ट्रम्प उत्तेजनामा आएर बाेल्याे

28
एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनलाई पागल भनेपछि रूसी राष्ट्रपति कार्यालय क्रिमलिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तेजनामा आएर बोलेको जनाएको छ।

बिबिसीले रूसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभलाई उदृत गर्दै समाचार लेखेको छ। डिमित्रीले ट्रम्पको नाम उल्लेख नगरीकन, ‘घटनासँग सम्बन्धित सबै जना उत्तेजित हुने गरेका छन्।’ भनेर प्रतिक्रिया दिएका हुन्।

युक्रेनी सहरहरूमा रूसले मिसाइल र ड्रोन हमलालाई निरन्तरता दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिएका थिए।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेख्दै ट्रम्पले पुटिन युक्रेनको केही टुक्रा नभएर पूरै युक्रेन चाहन्छन् भनेर आफूले पहिल्यै बोलिसकेको पनि जनाए।

‘मलाई लाग्छ त्यो प्रमाणित हुँदै गएको छ। पुटिनले त्यसो गर्नु रूसको पतन निम्त्याउनु हो। तर पछिल्लो समय उनी पागल भएका छन्। अनावश्यक रूपमा मानिसहरू मारिरेहका छन्। मिसाइल र ड्रोनहरू युक्रेनको सहरहरूमा प्रहार गरिरहेका छन्,’ ट्रम्पले भनेका थिए।

ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पनि आलोचना गरेका छन्। उनले जेलेन्स्कीले मनलाग्दी बोल्दा पनि समस्या समाधान हुन नसकेको बताएका छन्।

‘उनको मुखबाट निस्कने सबै कुराले समस्या निम्त्याउँछ, मलाई यो मन पर्दैन, र यो बन्द गर्नु राम्रो हुन्छ,’ उनले भनेका थिए।

ट्रम्पले आफू त्यतिबेला राष्ट्रपति भइदिएको भए युद्ध नै नहुने पुनः दोहोर्‍याएका थिए।

‘यो जेलेन्स्की, पुटिन र बाइडेनको युद्ध हो, ट्रम्पको होइन। उनीहरूको अक्षमताले निम्त्याएको युद्ध हो,’ उनले भनेका थिए, ‘ म केबल उनीहरूको अक्षमता र घृणाका कारण सुरू भएको भयानक र कुरूप आगो निभाउने प्रयत्न गर्दैछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here